छात्राविरुद्ध यौन दुर्व्यवहार गरेको अभियोगमा चाबहिलस्थित सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ परेका छन् । प्रहरीले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।
विद्यालयमा अध्ययनरत छात्राविरुद्ध यौन दुर्व्यवहार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालाले शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो । पक्राउपछि दुवैविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेको हो ।
अधिकारी र पौडेलविरुद्ध तीन छात्राले गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले पक्राउ परेका दुई अभियुक्त विरुद्ध पाँच दिनको म्याद थप भएको बताए ।
छात्रा माथि यौन दुर्व्यवहारपछि शिक्षकविरुद्ध विद्यालयका छात्रछात्रा विद्यालय पोसाकमै विरोधमा उत्रिएका थिए । गौशालास्थित प्रहरी वृत्त अगाडि धर्नामा उत्रिएका उनीहरूले शिक्षकबाट पटक – पटक यौन दुर्व्यवहारमा परेको बताएका छन् ।
विद्यार्थीका अनुसार अधिकारीले विद्यालयका एक छात्रालाई’ स्कर्टमा सेक्सी देखिने, ‘विल यु बी माई बेड पार्टनर ?’, ‘कलेजको शुल्क तथा बस भाडा मिलाइदिने’, लगायतका प्रस्ताव गर्दै आएका थिए ।
‘जनार्दन सरले हाम्रो एक साथीसँग यौन सम्बन्धका लागि अफर गरेका रहेछन् । स्कर्टमा सेक्सी देखिने भनेका रहेछन् । अन्य केटाहरूसँग बोल्दासमेत हप्काउँदा रहेछन् । प्रस्ताव स्वीकार गरे फी मिलाइदिने, बस भाडा मिलाइदिने जस्ता कुरा गर्दारहेछन्,’ आन्दोलनमा सहभागी एक छात्राले भनिन ।
अधिकारीविरुद्ध सुरुमा कक्षा ११ मा अध्ययनरत एक छात्राले यौन हिंसा परेको पीडा सार्वजनिक गरेकी थिइन् । प्रहरीमा उनले नै पहिलोपटक किटानी जाहेरी दिएकी हुन् । त्यसपछि उनका अन्य दुई साथीले पनि अधिकारीविरुद्ध जाहेरी दिएका हुन् । कक्षा १२ मा अध्ययनरत छात्रामाथि पनि अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै पीडित प्रहरीको सम्पर्कमा पुगेकी छिन् । तर, उनले जाहेरी दिएकी छैनन् ।