नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले नगरपालिकाभित्रका महिला उद्यमी तथा साना उद्यमीलाई सहुलियत दिने निर्णय गर्दै आफ्नो कार्यकाल सुरु गरेका छन् ।
उनले पहिलो निर्णयको रुपमा स्थिर पुँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने निर्णय गरेका हुन् ।
यस्तै, महिला उद्यमीको मात्र स्वामित्व रहने उद्योग दर्ता गर्दा लाग्ने दस्तुर पनि पूर्णरुपमा छुट गर्ने निर्णय लामाले गरेका छन् ।
त्यसैगरी, जेष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै उक्त वर्गलाई लक्षित गर्दै मासिक कार्यतालिका तयार गरी कम्तिमा महिनाको एक पटक दक्ष र विज्ञ जनशक्तिबाट घुम्ती स्वास्थ्य परिक्षण शिविर संचालनमा ल्याउने निर्णय गरेका छन् ।
यसैगरी प्रचलित कानुन बमोजिम तोकिएका निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निशुल्क स्वास्थ्य विमा कार्यक्रम क्रमश संचालन गरिदै लाने, पर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई भत्ता वितरण गर्ने वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीयस्तर र वडास्तरीयमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने तथा नगरस्तरीय शैक्षिक छात्रवृत्ति कोष स्थापना गरी कृषि प्राविधिक उत्पादन गर्न आवश्यक छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेका छन् ।
उनले यी निर्णयलाई पहिलो कार्यपालिका बैठकबाट अनुमोदन गरी तत्काल कार्यान्वयनमा लगिने बताए ।