नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) काठमाडौँ जिल्ला समिति अन्तर्गतको चन्द्रागिरि-नागार्जुन नगर समितिको आयोजनामा चन्द्रागिरी नगरपालिकाको थानकोटमा आज विरोध र्याली तथा आयल निगमको प्रदेश कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ ।
जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा प्रत्येक हप्ता अस्वाभाविक ढंगले गरिएको मुल्यवृद्धिको विरुद्ध आयोजना गरिएको उक्त कार्यक्रम स्थानीय खरिवोट चोकदेखि भ्रस्ट सरकार–राजिनामा दे, आयल निगम-मुर्दावाद, बढदो महंगी–नियन्त्रण गर, महिला हिँसा बन्द गर, बलात्कारीलाई–कारवाही गर भन्ने नारा सहित आयल निगमको प्रदेश कार्यालय थानकोटसम्म विरोध र्याली गरिएको थियो ।
उक्त र्यालीलाई थानकोट चोकमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य राम नेपालीले सम्बोधन गरेका थिए । त्यसपछि र्याली पुनः सुचारु भई चन्द्रागिरी नगरपालिका वडा नं. ३ थानकोट स्थित नेपाल आयल निगमको ३ नं. प्रदेश कार्यालयमा पुगेर उक्त कार्यालय घेराउ तथा धर्नामा परिणत भएको थियो ।
स्थानीय मजदुर किसान र विद्यार्थी, व्यापारीहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका ३ नं. प्रदेश सेक्रेटरी प्रवेश, काठमाडौँ जिल्ला सेक्रेटरी अमर, बिगेसो अध्यक्ष पदम र प्रदेश सदस्यहरु ढोग प्रसाद अधिकारी, बोजराज श्रेष्ठ, प्रेम तामाङ्गलगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।