काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ ।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिए । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ ।
तापनि दुई दिनभित्र बैठक बस्ने तयारीे भइरहेको खतिवडाले बताए । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ । गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा सत्तारूढ अर्को दल नेकपा (माओवादी केन्द्र) को पनि जोड छ ।
कांग्रेस नेतृत्वमा रहेको वर्तमान पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित छैन ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन बनाउन अधिक जोडबल गरिरहेका छन् । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा समेत चुनावी गठबन्धनबारे सकारात्मक छन् ।
यसैबिच मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीकाे फागुन २५ देखि २९ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले स्थानिय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको थियो ।