सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा आज पूर्वसभामुख र पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गरेका छन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा नागरिकता विधेयक प्रमाणीकरण तथा संसदका अन्य विभिन्न विषयमा कुरकानी भएको सभामुखको सचिवालयले जनाएको छ । छलफलमा सहभागि पूर्व सभामुख तथा पूर्वमहान्यायाधिवक्ताहरुले विधेयकको प्रमाणीकरण भएपछि ऐन बनिसकेको भन्दै सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिएको बताइएको छ । पक्ष÷विपक्षमा राजनीतिक दलहरुले नै बहस गर्ने बताउँदै उहाँहरुले सभामुखले संविधान, नियमावली र प्रचलित अभ्यास अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरुको जोड छ ।
छलफलमा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा सहभागी थिए । यसअघि सभामुखले पूर्वसभामुखभन्दा अगाडि पूर्वमहान्यायाधिवक्ताहरुसँग पनि छलफल गरेका थिए । छलफलमा पूर्वमहान्यायाधिवक्ताहरु अग्नि प्रसाद खरेल, रमेश बडाल, मुक्तिनारायण प्रधान र प्रा.डा. भरतबहादुर कार्की सहभागी रहेको सचिवालयले जनाएको छ ।
पूर्वमहान्यायाधिवक्ताहरुले पनि नागरिकता विधेयक प्रमाणीकरण बहसको विषय भएको बताउँदै न्यायिक निरुपण सर्वोच्च अदालतले गर्ने उल्लेख गरेका छन् ।