२४ डिसेम्बर १९९९ नेपाल हवाई उडान जगतका लागि कालो दिनको रुपमा अंकित रहन पुग्यो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चालक दलका १५ सदस्यसहित १ सय ७१ यात्रु लिएर नयाँ दिल्ली उडेको इण्डियन एयरलाइन्सको आइसी – ८१४ अपहरणमा पर्यो । नयाँ दिल्ली उडेको विमान अफगानिस्तानको कान्दाहार विमानस्थल पुर्याइयो । अपहरणकारीको माग पूरा भएपछि विमान र विमानमा रहेका यात्रुलाई मुक्त गरियो । यो थियो भारत र अपहरणकारीबीचको राजनीति । तर यो घटनापछि नेपालमाथि गिद्दे दृष्टि लाउँदै आएको भारतले धेरै कुरा छिनेको छ । जस्को असर आजसम्म नेपाली जनताले मात्र नभइ नेपालबाट उडेको विमानबाट नयाँ दिल्ली हुँदै अन्य देश जाने बिभिन्न देशका नागरिकले पनि भोग्दै आएका छन् ।
अपहरण पछि भारतले नेपालको सुरक्षा जाँच प्रणालीमा नै प्रश्न उठाउँदै आफ्नो छुट्टै सुरक्षा जाँच निकाय त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल राख्न पाउनु पर्ने दबाब दिएको थियो ।
भारतीय पक्षले नेपाली भूमि नै टेकेर आफ्नो विमानमार्फत उडान भर्नेहरुको सुरक्षा चेक जाँच गर्न थालेपछि नेपालले तत्कालै विरोध जनाएको थियो । त्यसपछि नेपाली भूमि भन्दा केही माथि चेकजाँच गर्न थाल्यो । त्यो ‘ल्याण्डरपोइन्ट’ सुरक्षा अहिले पनि जारी छ ।
अपहरणको घटनापछि त्रिभूवन विमानस्थलको सुरक्षा जाँचमा निकै परिवर्तन गरियो । तर पनि अझै भारतीय पक्षले विश्वास गरिसकेको छैन् । त्रिभूवन विमानस्थलमा लामो समय सुरक्षा व्यवस्था हेरेका एक कर्मचारी भारतले कसरी हुन्छ अझै पनि उस्को छुट्टै युनिट विमानस्थलमा राख्ने प्रयासबाट पछि हटेको छैन् । उस्ले आफ्नो विमानमा प्रवेश गर्न अघि सबैको छुट्टै सुरक्षा चेकजाँच गर्दै आएको छ ।
‘यस्मा उस्को विश्वास भन्दा पनि पर अन्य चाहना प्रतिबिम्बित हुँदै आएको छ, नेपाललाई अलग्गै मुलुकको विमानस्थल भन्दा पनि डोमेस्टिक विमानस्थल झै बनाउने उनको चाहना प्रष्ट छ, तर सरकारी अडानले उस्को अभिष्ट पूरा हुन सकेको छैैन् ’ ती कर्मचारीले भने ।
यता यस्तो दृश्य देखिदा भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने र भोग्नु पर्ने दृश्य झनै नेपाली र नेपाल भएर उडेका अन्य देशको नागरिकका लागि कम पीडादायी छैन् ।
नेपालबाट उडेका विमानलाई भारतले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ‘डोमेस्टिक साइड’मा अवतरण गराउने गरेको छ । त्यसपछि त्यहाँ भोग्नु पर्ने झण्झटिलो व्यवहारले हरेक यात्रु आजित हुने गरेका छन् । घण्टौं लाइनमा राख्ने, अपमानजनक व्यवहार गर्ने, चेकजाँचमा अति कडाई गर्ने, विमानस्थलको नियमित सुरक्षा एवं कागजी प्रक्रियामा पनि झण्झटिलो व्यवहार भोग्नु पर्ने अवस्था छ । जस्को कारण नयाँ दिल्ली भएर अर्को मुलुकमा उड्न पुगेका कतिपय यात्रुको विमान समेत छुट्ने गरेको छ । लामो समय लाग्ने हुँदा यात्रुहरु भुईमा नै बसेर थकाई मार्ने गर्दै आएका छन् ।
‘कस्तो अपमानजनक व्यवहार, नेपालबाट आएका विमानहरु उस्को घरेलु विमानस्थल राख्ने स्थानमा अवतरण गर्नुपर्ने, व्यवहार पनि उस्तै, नेपाल सरकारले कडा ढंगले प्रश्न उठाउँन नसक्दाको हविगत हो यो, अष्ट्रेलियाका लागि उडेका उदयपुरमा कृष्ण खवासले गुनासो गरे ‘ नेपालका विमानले र नेपालबाट उडेका विमानले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवहार पाउनु पर्छ,यो आवाज अब नेपाल सरकारले उठाउनु पर्छ । ’
निकै पीडादायी व्यवहार भोग्दै आएका नेपाली नागरिक र अन्य देशका नागरिकमाथि यो व्यवहार गर्न भारतीय समाजको सांस्कृतिक पहिचानले पनि नदिनु पर्ने हो । तर सुरक्षाको त्रासको नाममा भारत सरकारले गर्दै आएको यो व्यवहारले उस्कै पहिचानलाई थप संकुचित बनाएको प्रष्ट छ ।