दलित महिला संघको लुम्बिनीस्तरीय प्रदेश सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
न्याय, समानता र सम्मानका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका दलित महिला अभियन्ता र दलित महिला जनप्रतिनिधिहरुको सहभागितामा लुम्बिनी प्रदेशस्तरीय सम्मेलन आयोजना गरिएको थियो । छलफलमा गरिवी, समानुपातिक प्रतिनिधित्व, निःशुल्क शिक्षा, अन्तरजातीय विवाह, छुवाछुत, चेलीबेटी बेचविखन, बालविवाह एच.आई.भि.एड्सको खतरा, वहुविवाह, बलात्कार, प्रजनन् स्वास्थ्य, घरेलु हिंसालगायत अन्य मुद्दाहरु र यसबाट पर्ने नकारात्मक असरहरुलाई ध्यानमा राख्दै लमही घोषणापत्र जारी गरिएको हो । दलित महिला संघका अध्यक्ष कला स्वर्णकारको अध्यक्षता तथा संस्थापक अध्यक्ष दुर्गा सोवको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
वर्षौंदेखि बञ्चितिकरणमा पारिएका दलित महिलाहरुलाई प्रदेश सरकारको हरेक संरचनामा ३३ प्रतिशतभित्र दलित महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न माग गरिएको छ । संविधानको मर्म अनुसार प्रदेश सरकार र स्थानीय सरकारले दलित सशक्तिकरण विधेयक दलित महिलामैत्री बनाई कार्यान्वयन गर्नुपर्ने, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि योग्य शिक्षक र पर्याप्त स्रोत साधनको व्यवस्था गर्न, साथै निजी विद्यालयमा दलित बालबालिकालाई निश्चित कोटाको व्यवस्था गर्न माग राखिएको छ । विद्यालयमा दलित बाल बालिकाको भर्ना दर बृद्धिका लागि भर्ना अभियान कार्यक्रम र विद्यालय छोड्ने दर रोक्न आवाससहितको छात्रवृतिको व्यवस्था गरियोस् । साथै विद्यालयलाई छुवाछुतमुक्त घोषणा गर्नुपर्ने, प्राविधिक शिक्षामा दलित महिलालाई विशेष प्राथमिकता दिई छात्रवृत्तिसहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउनुपर्ने, बुवा, आमा गुमाएका वा बेपता भएका सडक बालबालिका र अलपत्र परेका बालबालिकालाई लालनपालन तथा शिक्षासहितको बाल आश्रमको व्यवस्था गर्न माग राखिएको छ ।
बुवा आमा पत्ता नलागेका वा गुमाएका, बुवाको पत्ता नलागेका, अन्तरजातीय विवाहबाट जन्मेका बाल बालिकाहरुलाई राज्यले अभिभावकत्व निर्वाह गरी निशर्त नागरिकता प्रदान गर्नुपर्ने, दलित महिलामाथि हुने सबै प्रकारका हिंसात्मक घटनाहरुको उजुरी सहजरुपमा दर्ता नगर्ने र कानुनी प्रक्रिया अगाडि नबढाउने अधिकारीहरु माथि कारवाहीको व्यवस्था गर्नुपर्ने, क्षमता र दक्षता भएका दलित महिलाहरुलाई सोही अनुरुपको रोजगारीमा संलग्न गराई यही आर्थिक वर्षदेखि नै शुरु हुने गरी कम्तिमा एक घर एक दलित महिला रोजगारको व्यवस्था गर्न माग राखिएको छ । दलित महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन साना उद्योग तथा व्यवसायलाई संरक्षण र प्रबद्र्धन गर्न बिनाधितो तथा बिनाब्याज ऋण उपलब्ध गराउने र मध्यम तथा ठूला उद्योग सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, यसका लागि दलित महिलाहरुलाई सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने, प्रदेश तथा स्थानीय सरकारले दलित महिलाहरुको लागि आवाससहितको लोकसेवामा निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, द्वन्द्व प्रभावित महिला र बालबालिकालाई शिक्षा, स्वास्थ्य, रोजगारी सहित ससम्मान पुनःस्थापित गर्न माग राखिएको छ ।
द्वन्द्वको समयमा अन्तरजातीय विवाह गरेका जोडीलाई सामाजिक सम्मान, सुरक्षा, रोजगारी र कानुनी संरक्षणको व्यवस्था गर्नुपर्ने, दलित समुदायमा रहेका परम्परागत सीपको विकास र प्रबद्र्धनका लागि राज्यले विशेष कार्यक्रम सञ्चालन गरी उनीहरुको पेशा तथा व्यवसायको औद्योगिकीकरण र व्यवसायीकरण गरी सो पेशामा अग्राधिकार कायम गर्न माग राखिएको छ । दलित र गैरदलितबीचको अन्तरजातीय वैवाहिक जोडी तथा परिवारको संरक्षण र सामाजिक सुरक्षाको ग्यारेण्टी सरकारले गर्दै अन्तरजातीय विवाहका कारण पीडित दलित महिलाहरुको न्यायका लागि विशेष पहल गर्न माग राखिएको छ । स्वास्थ्य सेवामा पहुँच नपुगेका दलित महिलाहरुलाई पहुँच स्थापित गर्ने र विपन्न दलित महिलालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, दलित महिलामाथि गरिने हिंसा, बोक्सीको आरोप, घरेलु हिंसा, यौन शोषण, मानव बेचबिखन, बलात्कारलगायतका घटनाहरुका दोषीमाथि कडा कारवाही गरी दु्रतगतिमा कानुनी उपचारको व्यवस्था गर्नुपर्ने, दलित महिलाभित्रका सीमान्तकृत र पछाडि पारिएका बादी, गन्धर्व, मधेशी महिलाहरुको लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, आर्थिक उपार्जनका कार्यक्रमहरुको ब्यवस्था गर्न माग राखिएको छ ।
जातीय तथा लैंगिक विभेद अन्त्यसँग सम्बन्धित सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि तथा अभिसन्धिहरु पालना गरी सोही अनुरुपको नीति तथा कार्यक्रमसहित बजेटको व्यवस्था गर्न माग राखिएको छ ।
सम्मेलनले निर्मला सुनारको अध्यक्षतामा लुम्बिनी प्रदेशस्तरीय दलित महिला संघ गठन गरेको छ । उपाध्यक्षमा कमला बराल, सचिवमा गंगा विश्वकर्मा, कोषाध्यक्षमा लक्ष्मी परियार रहनुभएको छ । सदस्यहरुमा मनु खड्का, कमला रसाइली, मीना भुसाल, दिपिका विक, निर्मला नेपाली, कमला परियार, राधा विक रहनुभएको छ ।