उदयपुरः कविता सुनुवारको हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेको छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीय सुनुवारको शब मंगलबार स्थानीय यशोदाखोलामा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
शब फेला परेको २४ घण्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घटनामा संलग्न व्यक्तिलाई सार्वजनिक नगरेसम्म शब जिम्मा नलिने अडान लिएका छन् । हत्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएको छ । उनीहरूले हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्नु पर्ने र सार्वजनिक पनि गर्नु पर्ने माग गरेका छन् ।
सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशोरलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।