दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलन मार्फत एकीकृत दलित आन्दोलनका लागि १३ बुँदे घोषणापत्र जारी भएको छ । दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालले धनगढीमा शनिबार पत्रकार सम्मेलन गरी धनगढी घोषण पत्र जारी गरेको हो । दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिर भुलले व्यवस्था बदलिए पनि दलितहरुको अवस्था नबदलिएकोले निर्णायक आन्दोलन गर्नुपर्ने बताए । जनयुद्धमा दलितहरुले परिवर्तनका लागि रगत बगाए पनि जातीय छुवाछूतका घटना अहिले पनि घटि रहेकोले सामाजिक परिवर्तनका लागि निर्णायक आन्दोलन गर्नुपर्नेमा भुलले जोड दिए ।
अजित मिजारको लाश ७ वर्षदेखि टिचिङ हस्पिटलमा राखिएको छ । उनको न्यायको लागि कुनैपनि सरकारले आवाज उठाएको छैन् । मान्छेको हत्या हुँदा समेत नबोल्ने समाज अहिले धरानमा गोरुको मासु खाएको विषयमा चर्को बिरोध गरेको देख्दा अचम्म लाग्ने गरेको उनले पत्रकार सम्मेलनमा बताए । एकीकृत दलित आन्दोलन सदूरपश्चिमबाटै सुरुवात गर्न धनगढीमा पत्रकार सम्मेलन गरिएको भुलले बताए ।
पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका कैलाली जिल्ला सचिब नृप सुनारले दलितहरु परिवर्तनका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । नेपाल बौद्ध उम्बेडकर महासभाका केन्द्रिय अध्यक्ष मनोज जैगडीले एकीकृत दलित आन्दोन आवश्यक रहेको बताए । शिक्षक गणेश नेपालीले युवाहरुले राम्रो कामको सुरुवात गरेको भन्दै निर्णायक आन्दोलनको विकल्प नरहेको बताए ।
जातीय छुवाछूतकै कारण हत्या गरिएका दलितलाई सहिद घोषणा गर , दलितलाई जग्गाधनी पूर्जा तत्काल दे, दलितको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, आत्मसम्मानको उचित व्यवस्था गर,राजनीतिक नियुक्तिमा दलित अनिवार्य गर, सामुदायिक खेती, उत्पादन तथा उद्योग धन्दा संचालनका लागि आवश्यक स्थान र सहुलियत ऋण दे, १३.८ प्रतिशत दलित प्रत्यक्षमा नभएको खण्डमा उम्मेदवारी दर्ता नहुने गरी निर्वाचन कानून निर्माण गर,जातीय विभेदका घटनाका पीडितलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको प्याकेज निर्माण गर हत्या गरि अस्पतालमा अलपत्र पारिएका दलितलाई तत्काल सम्बोधन गरी शव आफन्तको जिम्मामा दे । जेठ २१ लाई छुवाछूत मुक्त भएको स्मरणमा सार्वजनिक बिदा दिनुपर्ने लगायतका बुँदाहरु घोषणापत्रमा समेटिएको संयोजक गम्भिर भुलले बताएकाछन् ।