सुर्खेतः सत्तारुढ दलहरू भागबन्डाको लागि निर्णयक छलफल सुरु गरेका छन् । कर्णालीका सबै जिल्लामा गठबन्धनको बैठक सुरु भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।
डोल्पालगायत अन्य केही जिल्लामा समस्य भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए । रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नुअघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्य देखिएको छ । सबै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र भएकाले बल मिच्याइँ गरेको अन्य सत्तारुढ दलको आरोप छ । आरोपकै बीचमा अहिले गठनबन्धनको छलफल चलिरहेको छ ।
कांग्रेस नेताहरूले शुक्रबार बिहानसम्ममा आफ्नो दलभित्र आन्तरिक तयारी गरेर अहिले गठबन्धनको बैठकमा सहभागी भएको जाजरकोट कांग्रेस सभापति बेदराज सिंहले बताए । कांग्रेसका केन्द्रीय स्तरका नेताहरू जिल्ला, जिल्लामा खटिएका छन् ।
केन्द्रीय सर्कुलरअनुसार नै मतभारका साथै अन्य कुराहरू हेरेर छलफल सुरु भएको उनले बताए । प्रतिपक्ष दल नेकपा एेमालेले अधिकांश ठाउँमा उम्मेदवार टुंगो लगाएको बताएको छ । बाँकी ठाउँमा गृहकार्य भइरहेको नेता यमलाल कंडेलले बताए । ३ वैशाखभित्र जिल्लाले सहमति गरेर प्रदेशमा सहमतिको खाका पठाउनेछन् ।