माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी भएका छन् ।
कोरोना महामारीका कारण अघिल्लो दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष भने राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै परिक्षा सन्चालन गरेको हो । अघिल्लो वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।
एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार यस वर्षको परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ १ लाख ५७ हजार ९ सय १४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए ।
दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारतर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् । परीक्षामा सबैभन्दा कम मनाङ ४३ विद्यार्थी छन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि एसईईमा सहभागी रहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।
प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनका अनुसार बोर्डले आगामी साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको छ ।