समखबर संवाददाता


0 प्रतिक्रिया

2.4K

निर्वाचन बहिष्करण आन्दोलनको प्रकृयामा पार्टी लागि रहेको छ: वैद्य

२०७९ बैशाख ९
काठमाडौं
समखबर संवाददाता

2.9K

(पछिल्लो राजनीतिक घटनाक्रम र कम्युनिष्ट आन्दोलनबारे नेकपा ( क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्य ‘किरण’ सँग गरिएको कुराकानी )

१) के छ अहिले पार्टीको अवस्था ?

दिर्घकालिन हिसाबले भन्ने हो भने देश अझ अर्धसामन्ती, अर्धउपनिवेशिक/नवउनिवेशिकको अवस्थामा रहेको छ । जनताको राष्ट्रिय स्वाधिनता, जनतन्त्र, जनजीविकाका समस्याहरुको समाधानका लागि नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्ने छ । र तात्कालिन हिसाबले भने संसदिय व्यवस्था अन्र्तगतका स्थानिय निर्वाचनले जनताको समस्या सम्बोधन गर्न नसक्ने भएकोले हामीले आउने निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छौँ । त्यसैले निर्वाचन बहिष्करण आन्दोलन प्रकृयामा पार्टी लागि रहेको छ ।

२) अझै पनि नेपालको सामाजिक अर्थव्यवस्था अर्धसामन्ती नै छ भन्ने आधारहरु केके हुन् ?

अझै पनि उत्पीडित किसानहरुले जमिन प्राप्त गर्न सकेका छैनन् । मूल कुरा भूमिसम्बन्धि समस्या अझै समाधान हुन सकेको छैन भने केहि हदसम्म पूँजीवादको पनि विकास भएको छ तर त्यो नोकरशाही दलाल पूँजीवादी हो । जसले गर्दा नेपाली समाजमा अर्धसामन्तवाद अझै विद्यमान छ, हल भईसकेको छैन ।

३) चुनाव बहिष्करण नै किन ?

हाम्रो लागि यो चुनावको विषय तत्कालिन विषय हो र तत्कालको परिवेशलाई हेरेर निर्णय लिनुपर्ने हुन्छ । यो जनताको हितमा छैन । यसले चुनावको नाममा पैसाको खोलो बगाउने काम मात्र गर्छ । यो लगायत कुराहरुलाई लिएर नै हामीले यसको बहिष्करण नीति अपनाएका हौँ ।

४) चुनाव बहिष्करण सँगसँगै एम.सी.सी विरुद्धको आन्दोलन पनि सँगै लैजाने योजनामा हो तपाईहरु ?

एम.सी.सी राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय हो । सँगसँगै भारतीय सिमा अतिक्रमणका विषयहरु जस्तै लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका कुराहरुलाई पनि लिएर एकमुष्ट रुपमा जनतामा जानेछौँ ।

५) एम.सी.सी सँगै बि.आर.आई लाई पनि कसरी हेर्नु भएको छ ?

बि.आर.आई विशुद्ध व्यापारिक परियोजना हो भने एम.सी.सी हिन्द प्रशान्त शैन्य रणनीतिसँग जोडिएको विषय हो ।

६) केही कार्यकर्ता देखि लिएर पार्टी पोलिटी ब्यूरो सदस्य सम्मका लाई पार्टीबाट कारवाही देखि निष्काशन सम्म गर्नुभएको छ,किन होला ?

पार्टी विरुद्धका गतिविधि गर्ने जोकोहीलाई पार्टीले कारवाही गर्ने अधिकार राख्दछ । हामीले त्यसै गरेका हौँ । कति आफै छोडी जाने पनि छन् । अब छोडि जानेलाई रोक्न पनि त मिलेन । तर धेरै नयाँ साथीहरु पनि जोडिनुभएको छ हामीसँग । यी दुवै कुरालाई स्वाभाविक रुपमा लिएका छौँ

६) क्रान्तिकारी कम्युनिष्टहरुबीचको ध्रुविकरणको विषय खुब चर्चा हुन्छ ,यसमा तपाईँको पार्टीको पहलकदमी के छ ?

हो, हामीले यो कुरालाई भन्दै आईरहेका छौँ । समयले जुझारु क्रान्तिकारी कम्युनिष्ट पार्टीको माग गरेको छ । हामी त्यहि निर्माणको प्रयासमा छौँ । यसको लागि कतिपयसँग निरन्तर वार्ता पनि गरिरहेका छौँ । ढिलो चाँडो क्रान्तीकारीहरु एक ठाउँमा हुन्छौ नै ।

७) तपाईँहरुले भन्ने गरेको संघिय जनगणतन्त्र कस्तो खाले व्यवस्था हो ?

यसलाई नयाँ जनवादी व्यवस्था पनि भने भो । यो सर्वहारावर्ग र उत्पीडितहरुको व्यवस्था हो । यसले समाजवादका आधारहरु खडा गर्छ र सर्वहारा अधिनायकत्व सहितको समाजवादी व्यवस्था स्थापना गर्नु चैँ यसको मुख्य उद्धेश्य हो ।

८)को संघर्षको मोडल कस्तो हुन्छ ?

प्रतिक्रियावादी व्यवस्था त्यसै ढल्दैन । अहिलेको परिस्थितिमा संघर्षको मोडल सशस्त्र जनविद्रोह नै हो भनेर भनेका छौँ हामीले र त्यसको तयारी पनि गर्दैछौँ । यद्यपि भौतिक परिस्थितिले माग गरेको खण्डमा दिर्घकालीन जनयुद्ध पनि छड्नुपर्ने हुन्छ । तर त्यसलाई विज्ञान प्रविधिले विकसित तुल्याउनुपर्छ ।

९) तपाईँहरु क्रान्ती गर्ने त भन्नुहुन्छ तर भनिए जस्तो गतिशिलता त तपाईँहरुमा देखिदैन नि ?

यसमा केहि जटिलताहरु छन् । जनयुद्धले धोका खाएपछि फेरि छिट्टै त्यस्तै क्रान्ती सुरु गर्न सहज नहुने रैछ । केहीले पार्टी छोडेर पनि गए तिनको हविगत त अहिले देखिई नै हाल्यो । अनि फेरी हाम्रो समाजमा निम्न पूँजीवादी चिन्तन पनि हावी छ , छिट्टै क्रान्ती गरिहालौँ भन्ने । तर हत्तारले त झन् कहीँ पनि पुर्याउदैन नै । र पनि हाम्रा कमि कमजोरी,सीमा छैनन् भन्ने होइन । ती सबलाई पनि हामी स्वीकारेरै अघि बढ्छौँ, हामी तयारी मै छौँ ।

१०) उहाँ वैचारिक सिद्धान्तनिष्ठ व्यक्ति त हुनुहन्छ तर आन्दोलन हाँक्न सक्ने क्षमता उहाँमा छैन भन्ने आरोप लाग्छ नि तपाईँलाई ? यस विषयमा के भन्न चाहानुहुन्छ ?

हो, त्यस्ता आरोप लगाउने धेरै छन् । आलोचना गर्नु राम्रो पक्ष हो म त्यो स्वीकार्छु तर ती भन्नेहरु आफै अघि किन सर्दैनन् त भन्ने कुरा पनि हो । जहाँ सम्म नेतृत्वको सवाल छ त्यो व्यक्तिगत होइन सामूहिक हुन्छ । फेरि क्रान्ति गर्ने भन्ने कुरा तातै खाउँ मरि जाउँ भन्ने विषय पनि होइन । यो त वस्तुगत र आत्मगत परिस्थितिको संयोजनबाट हुन्छ ।

११) लोकतान्त्रिक गणतन्त्र स्थापना भईसक्दा पनि देशमा भ्रष्ट्राचार, विभेद, हत्या हिंसा, कुरितिका समस्याहरु भmन्झन् बढिरहेको छ ,यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

धेरैले यो व्यवस्थालाई डेमोक्रेसीका रुपमा लिन्छन् । तर यो त फ्रान्स लगायत देशहरुमा उहिल्यै १८ औँ शताब्दीमै प्रयोग भइसकेको पुरानो व्यवस्था हो । यसले राणाकाल, प्रजातन्त्र हुँदै पञ्चायती देखिका तिनै सामन्ती वर्गहरुलाई नै माथि ल्याएको छ । यो राजा शासन भन्दा केहि प्रगतिशिल त हो तर सारमा यसको चरित्र पनि उही शोषणकारी नै हुन्छ । हाम्रै कतिपय साथीहरु पनि यहि लाईनमा फसे । तर यहि व्यवस्थाले चाहिँ तमाम् समस्याहरु कदापी हल गर्न सक्दैन । यसको विकल्पमा नयाँ जनवाद लागु हुनुपर्छ भन्ने कुरालाई हिजो पनि उठाएका हौँ र आज पनि उठाई नै रहेका छौँ ।

१२) रुस र युक्रेनवीचको युद्ध र त्यसको प्रभावलाई कसरी नियाली रहनु भएको छ ?

यो मुख्यतः दुई साम्राज्यवादी मूलुकहरुको चेपुवामा युक्रेन परेको हो । यसको प्रभाव विश्व भरि देखिएको छ र स्वाभाविक रुपमा नेपालमा पनि । अमेरिका युक्रेनमा नेटोको उपस्थिति चाहान्छ भने रुस त्यसो कदापि चाहदैन । युक्रेन आफै पनि सजग हुनुपर्ने हो तर त्यसो देखिएन । हाम्रो पार्टीका केन्द्रिय समितिले नि यहि निष्कर्ष निकालेको हो । जहाँसम्म देउवा सत्तापक्षको सवाल छ, विचार नगरी सिधै युक्रेनको पक्षमा उभिनु हाम्रो असंलग्न परराष्ट्र नीतिको विरुद्धमा छ । यसले एमसीसी पास पछिको अमेरिकी प्रभावलाई छताछुल्ल पारिदिएको छ ।

१३) अन्त्यमा, तपाईको स्वास्थ्य अवस्था र दैनिकी बारे बताईदिनुस्न ?

स्वास्थ्यमा पहिला भन्दा सुधार आउँदैछ । दैनिकी सामान्य नै बितिरहेको छ । आजकाल ।

१४) जाँदाजाँदै आमजनसमुदायलाई केहि भन्न चाहानुहुन्छ कि ?

सचेत बनौँ । एमसीसीका मतियारहरुलाई भोट नहालौँ । संसदीय व्यवस्थाको विकल्प रोजौँ ।

पुरा भिडियेा :

2.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *