नेपाल कम्युनिष्ट पार्टीमा कारबाहीमा परेका सचिवालय सदस्यद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली समूह नयाँ रणनीतिमा जुटेका छन्। पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वली र बास्तोलालाई कारबाही गरेको विज्ञप्ति जारी गरेसँग उनीहरू अहिले आन्तरिक छलफलमा जुटेका छन् ।
पार्टीमा उत्पन्न नयाँ परिवेशबारे छलफल गर्ने बास्तोला र वली समूहले आफू निकट पार्टीका केन्द्रीय नेताहरूलाई छलफलमा बोलाउने तयारी गरेको बुझिएको छ । केन्द्रीय कमिटीका सदस्यहरूलाई काठमाडौं बोलाइएको छ। बैठकले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नयाँ रणनीति तय गर्ने बताइएको छ।
वलीले केन्द्रीय कमिटी बैठक बस्ने तयारी भइरहेको तर दिन टुंगो नलागेको बताए। उनले भने, ‘सकेसम्म छिटो बस्ने तयारी भइरहेको छ, भोलि नै त सम्भव नहोला, टाढा(टाढाबाट साथीहरू आउनुपर्ने भएकाले तर छिट्टै बसेर निर्णय लिन्छौं।’
महासचिव विप्लवको लाइन चुनावी लाइनसहितको राजनीतिक प्रस्तावमा वली र बास्तोलाको टिमले विरोध गरेको थियो। उक्त छलफलमा ६९ मध्ये ४२ जना केन्द्रीय सदस्यले चुनावको विपक्षमा बोलेका थिए। त्यसपछि विप्लवले मझधारको प्रस्तावसहित प्रतिवेदन पारित गराएका थिए।
तर, बैठक सकिए लगत्तै विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढा मगर चुनावी तयारीमा लागेका थिए। पार्टीले केन्द्रीय सदस्य, जिल्ला कमिटीका पदाधिकारीहरू चुनावमा संलग्न नहुने निर्णय गरेको थियो। उक्त निर्णय विपरीत नेकपाका केही नेताहरूले विभिन्न पालिका उम्मेदवारी दर्ता गरेका छन्। उनीहरूसहित चुनावमा उम्मेदवार भएका नेता(कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न वैशाख १२ साँझ धर्मेन्द्र बास्तोलाले विज्ञप्ति निकालेका थिए। उक्त विज्ञप्तिपछि महासचिव विप्लवले वली र बास्तोलालाई कारबाही गरेका हुन्।