हामीलाई सुक्ष्मजीवहरुले फाइदा बेफाइदा दुबै गराउने हुन्छन् । तीमध्ये आज हामी सुक्ष्मजीवहरुको बेफाइदाको तुलनामा निकै कम चर्चा गरिने तीनका फाइदाका बारेमा चर्चा गर्नेछौं ।
पृथ्वीमा जीवनको सबैभन्दा लामो इतिहास सुक्ष्मजीवहरुको हो र यो जीवनको सबैभन्दा पुरानो रुप पनि हो । सुक्ष्मजीवहरु अधिकांशतः एककोषीय हुन्छन् र तीबाटै बहुकोषीय सुक्ष्मजीवहरु हुँदै ठूला बहुकोषीय जीव तथा प्राणीहरुको विकास भयो भन्ने कुरालाई जीवविज्ञानले तथ्यहरु सहित पुष्टि पनि गरिसक्यो। सुक्ष्मजीवहरु नांगो आंखाले देख्न नसकिने हुन्छन् तर ती जताततै पाइने हुन्छन् । जमिन, सागरको गहिराई देखि वायुमण्डलसम्म फैलिएका हुन्छन् ।
सुक्ष्मजीवहरु बिना स्वयम् हामीहरु पनि अपूर्ण छौं साथै अन्य सबै जीवित प्राणी वनस्पतिहरु पनि । अझ हामीसंग सम्बन्धित यसको एउटा सबैभन्दा रोचक तथ्य के हो भने हाम्रो शरीरको मानव कोषको संख्या भन्दा दश गुणा बढि संख्यामा जीवाणुहरु हाम्रो शरीरमा पाइने हुन्छन् । ती हामीसंगै बाच्ने हुन्छन् अझ कति त हाम्रो जन्मैदेखि हाम्रो जीवन भरि नै रहन्छन् । ती मध्ये कति हानिकारक हुन्छन् भने कति हाम्रो शरीरलाई सन्तुलनमा राख्न सहयोग पुर्याउने स्वभावका हुन्छन् । त्यसैले जीवविज्ञानमा अचेल भन्ने गरिन्छ ,वी आर नट अलोन् अर्थात् हामी एक्लो छैनौं ।
सुक्ष्मजीवहरु मध्ये विषाणु, ढुसी, जीवाणु आदि प्रमुख हुन् । ढुसी, जीवाणुले हाम्रो वातावरण र पारिस्थितिक प्रणालीलाई स्वस्थ अनि सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्दछन् । यीनले वातावरणमा मरेका जीव, सडेगलेका पात पतिंगर फोहोरहरुलाई प्राकृतिक चक्रिय ढंगले व्यवस्थापन गर्ने मात्र होइन जीवीत जीव तथा वनस्पतिहरुलाई तीनको वृद्धि विकासका लागि चाहिने पौष्टिक तत्वहरुको उपलब्ध समेत गरिदिन्छन् । जस्तैः नाइट्रोजन, फस्फोरस् आदि । कृषि उत्पादन र खाद्य उत्पानमा पनि सुक्ष्मजीवहरुको भूमिका नगन्य हुन्छ । माटोको उत्पादकत्व बढाई भूमि उर्वर बनाउँछ र खाद्य उत्पादन बढाउँछ । बोटबिरुवाको संरक्षणमा सहयोग पुर्याउँदछन् भने विषाणुहरु कतिपय बोटबिरुवाका तापक्रम प्रतिरोधक पनि हुन्छन् ।
हाम्रो भान्सामा भेटिने दुधका परिकार, गालेको गुन्द्रुकको अचार, रोटी पाउरोटी, च्याउ देखि लिएर जांड, छ्यां, रक्सी, वियर आदिको उत्पादनमा समेत यीनको महत्वपूर्ण योगदान रहन्छ । हाम्रा खानेकुराको उत्पादनमा मात्र होइन हामीले खाएका खानेकुराहरु पचाउन हाम्रो शरीरभित्रको पाचन प्रक्रियामा पनि यीनले सहयोगिको रुपमा भाग लिई भिटामिन एवम् अन्य पौष्टिक तत्वहरुको उत्पादनमा मद्दत गरिदिन्छन् । जीवाणुहरु हाम्रो शरीरमाथि हुनसक्ने संक्रमणको विरुद्ध अग्रपंक्तिमा प्रतिरक्षकको भूमिकामा खटिन्छन् । त्यतिमात्र होइन अन्य हानिकारक सुक्ष्मजीवहरु एवम् विषाणुहरुको संक्रमणको प्रतिरक्षामा रोग प्रतिरोधात्मक शक्तिको पनि उत्पादन गर्दछन् । कुनै रोग तथा महामारी बाट बच्न लगाईने भ्याक्सिनको उत्पादनमा पनि जीवाणु एवम् विषाणुलाई आधार सामाग्रीको रुपमा प्रयोग गर्ने गरिन्छ ।
प्राविधिक रुपमै इतिहासमा लामो समयदेखि मानव समुदाय सुक्ष्म जीवसंग जोडिएको पाउन सकिन्छ । जस्तैः रक्सी जन्य उत्पादनको सवालमा । मानव सभ्यताको विकास संगसंगै सुक्ष्मजीवहरुको उपयोगमा पनि ठूलो प्रगति भएको हामी पाउन सक्छौ । स्वास्थ्य सुरक्षाको क्षेत्र, कृषि, खाद्य उत्पादन लगाएत अन्य विविध क्षेत्रमा प्राविधिकीय ढंगले यसको उपयोगमा निरन्तर विकास गरिदैँछ । जसले गर्दा प्राकृतिक रुपमा संगसंगै सुक्ष्मजीवहरुको उपयोग, फाइदा र महत्व कृत्रिम रुपमा पनि बढ्दै गएको छ । निश्चय नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुक्ष्मजीवहरु विना हाम्रो जीवन असम्भव छ अझ भनौं असम्भव छ सिंगो वातावरणीय , पर्यावरणीय सन्तुलन पनि।