समखबर संवाददाता


0 प्रतिक्रिया

948

पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयलाई गरे स्वागत

२०७९ बैशाख १६
पोखरा
समखबर संवाददाता

1.2K

पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ ।

कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ । सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

होटल संघले विज्ञप्ति नै निकालेर सरकारको निर्णयले सकारात्मक सन्देश दिएको बताएको छ । ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकोमा दुई दिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड-१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघको रहेको अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

पोखरामा हिजोआज विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउँछन् । विस्तारै नेपालीमा घुम्ने संस्कारको विकास भएको छ । पोखराका होटलमा ४० हजारभन्दा बढी बेड छन् । तीमध्ये अहिले आधाभन्दा बढी भरिएका छन् ।

पर्यटकलाई भुलाउनकै लागि सरकारले लेकसाइडलाई २४ सै घन्टा खुला राख्ने निर्णय गरेको छ । अहिले व्यवसायीहरूले लगानी बढाएका छन् भने साहसिक खेलकुदका गतिविधि थपिएको छ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *