समखबर संवाददाता


0 प्रतिक्रिया

944

शीर्ष नेतालाई गृह जिल्लामा खड्गो !

२०७९ बैशाख २५
काठमाडौं
समखबर संवाददाता

1.2K

पाँच वर्षे अवधि भएको स्थानीय सरकारका लागि अबको पाँचौं दिनमा देशभरबाट ३५ हजार बढी जनप्रतिनिधि चुन्न निर्वाचन हुँदैछ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा भएको गठबन्धन छ ।

यही पाँच दलीय गठबन्धनका र्शीष नेताहरूले एमालेलाई ‘साइज’मा ल्याउन भन्दै निर्वाचनमा तालमेल गरिएको बताउँदै मतदातासँग मत मागिरहेका छन् ।

तर, तिनै शीर्ष नेताहरूलाई भने आफ्नै जिल्लामा निर्वाचन जिताउन ठूलो खड्गो छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन दुई कारणले असहज छ ।

पहिलो, गठबन्धन दलहरूबीच तालमेल छैन । एक्लाएक्लै निर्वाचनमा होमिएका छन् ।
गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि गृहजिल्ला चितवनमा निर्वाचन जिताउन मुस्किल परेको छ ।

कारण, कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिनु । हुन त उनी कांग्रेसको कारबाहीपछि पार्टीबाट अलग छन् ।

तर, गठबन्धनको साझा उम्मेदवार रेणु दाहाललाई जाने मत काटिन सक्ने आँकलन छ । उनै पौडेलका कारण माओवादीले तालमेलको क्रममा पाएको एक मात्र महानगरपालिका भरतपुरमा पनि निर्वाचन जिताउन प्रचण्डलाई सहज छैन ।

जसपा अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला मोरङको विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा र एकीकृत समाजवादी गठबन्धनमा त छ । तर, माओवादी केन्द्रकी नमिता न्यौपाने र जसपाकै उमेश यादव बागी उम्मेदवार बनेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा यादव प्रमुख र न्यौपाने उपप्रमुख पदकी उम्मेदवार थिए । यस पटक पनि सोही पदमा दुवै जना बागी भएर उम्मेदवार बनेका हुन्।

बागीकै कारण यादवलाई गृह जिल्लामा गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती थपिएको छ ।

सोही पार्टीका सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा पनि गठबन्धन दलहरूबीच नै तालमेलमा समस्या भएपछि आफ्नै पार्टीका उम्मेदवारलाई जिताउन भनेर भट्टराई मत मागिरहेका छन् ।

उनले त गठबन्धन दलहरूबीच भएको तालमेलप्रति नै असन्तुष्टि पनि जनाउँदै आएका छन् ।

गठबन्धनकै अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पनि गठबन्धन दलहरूबीच तालमेल हुन सकेन ।

चन्द्रपुर नगरपालिकामा कांग्रेसबाट सरोज काफ्ले, एकीकृत समाजवादीबाट बाबुराम दाहाल, माओवादी केन्द्रबाट हरि पौडेल र एमालेबाट शिव आचार्य प्रमुख पदका उम्मेदवार छन् ।

अन्य स्थानीय तहमा पनि त्यस्तै छ । जसले गर्दा नेपाललाई गृहजिल्लामा आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन सहज देखिएको छैन ।

यस्तो समस्या गठबन्धन दलहरूमा मात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि गृहजिल्ला झापामा छ ।

उनकै गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन छ । गठबन्धनका कारण ओलीलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन मुस्किल छ ।

झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि गृहजिल्ला हो । पहिले जितेको कचनकबल गाउँपालिकामा राप्रपाविरुद्ध कांग्रेस–एमालेबीच तालमेल छ । यसले गर्दा लिङ्देनलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती छ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *