समखबर संवाददाता


2 प्रतिक्रिया

1.5K

सम्पन्न निर्वाचनबारे क्रान्तिकारी माओवादीको धारणा सार्वजनिक

२०७९ बैशाख ३१
काठमाडाैं
समखबर संवाददाता

1.9K

नेकपा (क्रान्तिकारी माओवादी)ले सम्पन्न स्थानीय निर्वाचनका सम्बन्धमा आफ्नो प्रारम्भि धारणा सार्वजनिक गरेको छ । उक्त पार्टीका महासचिवले एक प्रेस वक्तव्यमार्फत् निर्वाचनका सम्बन्धमा पार्टीको प्रारम्भिक धारणा सार्वजनिक गर्नुभएको हो । निर्वाचनका सम्बन्धमा पार्टीको धारणा सातवटा बुँदामा सार्वजनिक गरिएको छ ।वक्तव्यको पहिलो अनुच्छेदमा भनिएको छ, “नेपाल सरकारले एकै चरणमा सक्ने गरी आयोजना गरेको स्थानीय निकायको निर्वाचन हिजो वैशाख ३० गते ५ बजे सकिएको छ । यस निर्वाचनमा उमेदवारले मतदातालाई आकर्षित गर्न साम, दाम, दण्ड, भेदका सबै उपायहरु प्रयोग गरेका छन् । सरकारले दर्जनौ राउण्ड गोली, सयौं राउण्ड अश्रुयास र अन्धाधुन्ध लाठीचार्जका बीचबाट चुनाव सफल भएको घोषणा गरेको छ । यस प्रक्रियामा एक जनाको गोली लागेर, एक जनाको भिडन्तमा परेर र एक जनाको नेताको गाडीले किचेर मृत्यु भएको छ र हजारौं मतदाता घाइते भएका छन् । जनताको सचेत विरोध, विभिन्न समूहका बीचको आपसी झडप र मतदान गराउन खटिएका कर्मचारी कै लापरवाहीका कारण ७७ केन्द्रमा मतदान स्थगन गरिएको छ ।”

वक्तव्यमा पार्टीको चुनाव बहिष्कारको कार्यक्रमलाई जनतासम्म पु¥याउन अहोरात्र खट्ने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र पार्टीको आह्वानलाई स्वीकार गरी बहिष्कार आन्दोलनमा सहभागी हुने आम जनतालाई पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

निर्वाचनसम्बन्धी धारणा यसप्रकार रहेको छ :

“एक, यस पटकको स्थानीय निर्वाचनमा विचार, दृष्टिकोण तथा आदर्शमा आधारित हुने संसदीय प्रतिस्पर्धाको राजनीति प्रायः समाप्त भएको छ । विचारका दृष्टिले विपरीत ध्रुवमा उभिने पार्टीहरु मध्ये माओवादी केन्द्रले रुखमा र काङ्ग्रेसले हँसिया हथौडामा भोट हाल्न विचार तथा पार्टीप्रति प्रतिबद्ध आफ्ना कार्यकर्तालाई दिएको बाध्यकारी निर्देशनले यसैको पुष्टि गर्दछ । राजनीतिक पार्टी सत्ता स्वार्थका समूह बनेका छन् ।

दुुई, अहिलेको चुनावी गठबन्धन समग्र पार्टी र जनताको हितका लागि होइन, मूल नेतृत्वको सत्ता स्वार्थका लागि गरिएको प्रस्ट छ । कुनै एकजना उमेदवारलाई जिताउनका लागि गठबन्धनका सबै नेताहरु खनिने र उनले चुनाव नजिते देशै डुब्ने भन्ने जस्ता अभिव्यक्तिले अव पार्टीहरुको भूमिका सकिएको र नेताहरु नै निर्णायक भएको कुरा दर्शाउँछ । यो आन्तरिक जनवादको समाप्ति र नेपालमा संसदीय व्यवस्था असफल भएको प्रमाण हो ।

तीन, चुनावी प्रचार–प्रसार पार्टीका आर्थिक राजनीतिक कार्यक्रम तथा जनताका एजेण्डाका आधारमा भएको पाइएन । यस पटकको चुनावमा डर, त्रास, धम्की, प्रलोभन, भोज–भतेर तथा क्षणिक आर्थिक लाभद्वारा सम्बन्धित उमेदवार तर्फ मत आकर्षित गर्न खोजेको देखियो । चुनावी खर्चको आँकडा हेर्दा सामान्य मजदुर किसानले यसबारे सोच्नै नसक्ने स्थिति बनेको छ । यो आर्थिक स्थिति कमजोर भएका उत्पीडित जनतालाई राजनीतिक गतिविधिबाट विमुख बनाउने र राजनीतिमा दलाल तथा नोकरशाह पुँजीपति, सामन्त र पैसावाला ठेकेदारहरुको एकाधिकार कायम गराउने षडयन्त्रको एउटा हिस्सा हो ।

चार, यस पटकको स्थानीय निर्वाचनमा जे जस्ता गलत गतिविधिहरु देखिए ती अमुक पार्टी वा व्यक्तिका कारणले मात्र पैदा भएका होइनन् । बरु, ती भ्रम छर र खाऊ भन्ने एकाधिकारी उपभोक्तावादी पुँजीवादका स्वाभाविक परिणाम हुन् ।

पाँच, यस पटक पहिलेका चुनावमा जस्तो जनताको उत्साह देखिएन । खास गरी राजधानी र सहरी क्षेत्रमा जन सहभागिता कम भएको छ । अर्कोतिर, एमसीसी पक्षधर नेताका गाडीमा ढुङ्गा मूढा गर्ने, ती नै नेताका सामु एमसीसी खारेज गर भन्ने नारा लगाउने र मत पेटिका खोसेर फोर्ने जुन काम जनताले गरे त्यसले सत्ता, व्यवस्था र तिनका सञ्चालक नेताप्रति जनताको वितृष्णा चुलिँदै गएको देखाउँछ ।

छ, निर्वाचन बहिष्कारको नीति अन्तर्गत पार्टीले प्रतिक्रियावादी सत्ता र व्यवस्थाका विरुद्ध सञ्चालन गरेका शान्तिपूर्ण प्रचारात्मक कार्यक्रमहरु माथि देउवा नेतृत्वको गठबन्धन सरकार निर्लज्ज दमनमा उत्रियो । बहिष्कार कार्यक्रम लिएर जनतासम्म जाने प्रक्रियामा विभिन्न समय र स्थानमा पार्टीका स्थायी समिति सदस्यदेखि सामान्य समर्थक कार्यकर्तासम्म पुलिसको हिरासत र यातनाका शिकार भए । यसले नेपाली जनताले लामो र कठोर सङ्घर्षबाट प्राप्त गरेका सीमित जनतान्त्रिक अधिकारहरु पनि खोसिंदै गएको र सरकारले सत्ता रक्षाका लागि फासीवादको सहारा खोजेको प्रस्ट हुन्छ ।

सात, उपरोक्त तथ्यका आधारमा हाम्रो पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले स्थानीय निर्वाचनको बहिष्कारलाई नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा लिने जुन निर्णय लिएको थियो त्यो वस्तुवादी, सही र समसामयिक थियो भन्ने पुष्टि भएको छ ।”

1.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

2 thoughts on “सम्पन्न निर्वाचनबारे क्रान्तिकारी माओवादीको धारणा सार्वजनिक

  1. यो ब्यास्था को चुनाब मा भर्स्ट चारी ले मान्यता पाउछ।जाहा money को चल खेल हुन्छ।जब जन गणतन्त्र को ब्याबस्थामा सचेतता आउँछ तब बिकृती हराएर जान्छन् ।इमानदारी कायम रहन्छ।

  2. अर्ध सामन्ती जमाना मा हुने नंया तरिका।

Leave a Reply

Your email address will not be published. Required fields are marked *