काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले २ हजार १ सय ३९ मत ल्याएर अग्रस्थानमा छन् ।
उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले १ हजार १ सय ९९ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह १ हजार ५७ मत पाएर तेस्रो स्थानमा छिन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोल २ हजार २ सय ३२ मतका साथ अग्र स्थानमा छिन् । उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ सय ४७ मत ल्याएका छन् । हलो चिन्हले हलो ५ सय २१ मत पाएको छ ।
मेयरतर्फ ढल्केको छाता १, तराजु २८, हलो २ सय ३३, खड्ग ५, सुगा १, तीर ६, साँचो १, किताब ४, मकैको घोगा १, पुतली १, रिक्सा १, आँखीझ्यालले २ सय २१ मत पाएका छन् ।
उपमेयरतर्फ गोलाकारभित्रको हसिँया हथौडा २, ढल्केको छाता १, तराजु ९६, मादलले १ पाएका छन् ।
काठमाडौं महानगरको मतगणना निकै ढिलाइ भइरहेको छ । मतगणनामा ढिलाइ भइरहेको भन्दै चौतर्फी गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतगणनास्थल थप गरेको छ । अहिले ३१ नम्बर वडाको पनि मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
योसँगै अहिले ६ ठाउँबाट मत गणना भइरहेको छ । अहिले वडा नम्बर १,२,३,४, ३१ र ३२ वडाको मत गणना एक साथ अघि बढिरहेको छ । केही वडाको मत गणना अन्तिम चरणमा पुगेको छ ।