नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आज नेपाल आयल निगमको गेट अघि कालो व्यानर राखी प्रदर्शन गरेको छ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य अभिवृद्धि खारेज गर, शिक्षा,स्वास्थ्यको सम्पूर्ण रुपमा राष्ट्रियकरण गरि निःशुल्क गर, भ्रष्टाचारीलाई कारवाही गर, गाँस,बास, शिक्षा, स्वास्थ्यको जिम्मा राज्यले लिग जस्ता नाराहरु लेखिएको कालो व्यानरमा त्रिपुरेश्वरबाट नाराबाजी सुरु भई टेकु स्थित नेपाल आयल निगमको गेट अगाडि कोण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेले मन्तव्य राखेका थिए ।
यो राज्य सत्ता र व्यवस्थाले जनताको आवश्यकता पूरा गर्न नसकेको र झन् भ्रष्ट बन्दै गएकोले यसको विकल्प खोज्नुपर्ने बेला आएको र त्यसका लागि सम्पूर्ण जनता, विद्यार्थी एवम् प्रगतिशील समुदाय तयार हुन अध्यक्ष गजुरेलले आवह्वान गरे ।