समखबर संवाददाता


0 प्रतिक्रिया

3.5K

नौ वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता उत्रिए सडक आन्दोलनमा

२०७९ जेष्ठ ३
सर्लाही
समखबर संवाददाता

4.4K

मतपेटिकाबाट नौ वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् । आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रबाट १ हजार ४ सय २७ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, अहिले मतगणको क्रममा मतपेटिका खोल्दा १ हजार ४ सय १८ वटा मतपत्र मात्रै भेटिएको थियो ।

नौ वटा मतपत्र हराएको भन्दै एमालेका कार्यकर्ताहरुले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् । यता, लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएरातिनै लालबन्दी-८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको घोषणा गरेको छ । पाख्रिन चार सय ६० मतसहित विजयी भएका थिए ।

निकटतम प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले ४ सय ४४ मतमात्र पाएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ । लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा नौ मत कम देखिएको स्वीकार गरे । उनले यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउने तयारी गरिरहेको बताए ।

नौ मत कम भेटिँदासमेत निर्वाचन अधिकृतको कार्यालयले गएराती मध्यरातमै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ । उक्त वडाको वडाध्यक्षमा माओवादीका उम्मेदवार १६ मतले विजयी भए पनि चारै जना वडा सदस्य एमालेबाट चयन भएका छन् ।

4.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *