नेकपा (माओवादी केन्द्र) ले १ सय १९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १ सय १९ पालिकामा माओवादीले जित निकालेको हो ।मतगणना सम्पन्न भएका पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेपछि सबैभन्दा बढीमा माओवादीका उम्मेदवारले जितेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका स्थानमा कांग्रेसले ३ सय ११ र एमालेले १ सय ९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।
हाल मतगणना भइरहेका पालिकामध्ये दुई वटामा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
आयोगले गत वैशाख ३० गते देशका ७ सय ५३ वटा पालिकामा निर्वाचन गरेको थियो ।