
समखबर संवाददाता
डोटी जिल्लाको पूर्वीचौंकी गाउँमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा बनाइएको छ ।
पूर्वीचौकी गाउँपालिका–२ कुडासैनमा वर्षौंदेखि दलित र गैरदलितका लागि खानेपानीका छुट्टै धारा निर्माण गरिएका हुन् । उक्त गाउँको पानीको मुहानमा तीन वटा पानीका धारा निर्माण भएका छन् । तीन धारामध्ये दुई वटा धाराको पानीमा कुडासैनका दलित समुदायका व्यक्तिहरूले जान पाउँदैनन् ।
दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ । तर, कहिलेकाँही उक्त धारामा पानी नआउँदा भने दलितहरूले टाढाबाट गैरदलितलाई नछुने गरी भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको भने स्थानीय दलितहरू स्वीकार गर्दछन् ।
दलित र गैरदलितको खाने पानीको धारा फरक–फरक रहनु लज्जाको विषय भएको जिल्ला सदरमुकाममा रहेका दलित अगुवाहरूको भनाइ छ । तर, स्थानीय दलितलाई सामाजिक विभेदको चेतना छैन । नेपालको कानुन र संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको भए पनि डोटीका बिकट गाउँहरूमा उक्त कानुन लागु हुनसकेको छैन ।
तथाकथित सानो जात र ठूलो जातको आधारमा विभिन्न किसिमका विभेद हुँदै आएको स्थानीयवासी जोगी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, – जातीय विभेद विरुद्धको कानुन कार्यान्वयन नहुँदा गाउँघरमा विभेदलाई पनि सामान्य ढंगले लिने गरिएको छ, सरकारले उक्त कानुनको कडा रूपमा पालना गर्न लगाउनु पर्छ ।’
डोटीबाट विमल विष्टले लेख्नुभएको समाचार, नेपाल समाचार पत्रमा छापिएको छ ।
समखबर संवाददाता 

