
समखबर संवाददाता
विश्व चर्चित अमेरिकी म्यागजिन फोर्ब्सको यस वर्षको प्रभावशाली युवाको सूचीमा पाँच जना नेपाली पनि परेका छन् । यस वर्ष एसियाका ‘३० अण्डर ३० एसिया’ अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाहरुको सूची सार्वजनिक गरेसँगै नेपालबाट पाँच जना छानिएका हुन् । उक्त सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे छन् ।
३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाहरु फोर्ब्सको ३० अन्डर ३० एसियामा छानिएका हुन् । २९ वर्षीय सुजित पाठक कन्जुमर टेक्नोलोजी विधामा यो सूचीमा परेका हुन् । उनी इनग्रेल नेपालका सह-संस्थापक हुन् । यो संस्थाले नेपालको ८ सयभन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्याउँदै आएको छ ।
यस्तै, यो सूचीमा पर्न सफल अर्का व्यक्ति सुमित दाहाल हुन् । २७ वर्षीय सुमितले नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्ट डक्टरल हुन् । उनले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन् ।
यस्तै २८ वर्षकी ऐश्वर्य रानी सिंह सोसल इम्प्याक्ट विधाबाट यो सूचीमा परेकी छिन् । उनी पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन् । यो संस्था महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ । उनी सोसल इम्प्याक्ट विधामा सूचीकृत भएकी हुन् । यस्तै रिटेल एन्ड इ-कमर्स विधामार्फत् सूचीमा पर्न सफल निरज काफ्ले र सन्तोष पाण्डे अफरिङ ह्याप्पिनेसका सह-संस्थापकहरु हुन् । २८ वर्षीय निरज र २५ वर्षीय सन्तोषले सञ्चालनमा ल्याएको संस्थाले उपहार र सरप्राइज प्याकेज डेलिभरी गरेर खुशी बाँड्ने काम गर्छ । साभार
समखबर संवाददाता 

