समखबर संवाददाता
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पदार्थम सरकारले लगाएको सम्पूर्ण कर हटाउन माग गरेका छन् । सरकारले पेट्रोलमा करिब ६४ रुपैयाँ र डिजेलमा करिब ४५ रुपैयाँ कर लगाएको भन्दै यी कर तत्काल हटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न जोडदार माग गरेका हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी), सम्बद्ध जवसमोर्चाका सार्थ सडकमा उठेको आन्दोलनका कारण सरकार पेट्रोलियम पदार्थको मूल्यमा १० रुपैयाँ घटाउन बाध्य भएको भए पनि जनतालाई राहत दिन सम्पूर्ण कर हटाउनु पर्नेमा उनको जोड थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा र नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश ३ को संयुक्त आयोजनामा काठमाडौंको माइतीघरमा आयोजित विरोध र्याली तथा सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले हालै सरकारले ल्याएको बजेट आउने चुनावमा आफ्नो पक्षमा जनताले भोट हालून भन्ने उद्देश्यलाई केन्द्रमा राखेर ल्याएको टिप्पणी गरे ।
पेट्रोलियम पदार्थलगायतका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा आयोजित विरोधसभामा बोल्दै उनले चुनाव जित्न र जनतालाई खुसी बनाउने गरी सरकारले बजेट ल्याएको दावी गरे । उनले चुनावमा धाँधली गरेर जित्न सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको बताए ।
उनले भने, “अहिले १५ प्रतिशत कर्मचारीको तलव वृद्धि पनि चुनाव जित्नकै लागि हो । चुनाव जित्नका लागि कर्मचारीलाई एक प्रकारको घुस दिइएको हो ।”
उनले भारतीय विद्युतीय गाडी कम्पनीहरूसँग कमिशन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीको संचालनमा जोड दिने गरी बजेट ल्याएको आरोप समेत लगाए।
समखबर संवाददाता