समखबर संवाददाता
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायको मुद्दा राज्यको मुद्दा भएकोले संचारगृह सहितका निकायहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस काउन्सिल र क्रियाशिल दलित पत्रकार संघ नेपालद्वारा राजधानीमा संयुक्तरूपमा आयोजित कार्यक्रममा भने, ‘दलितको मुद्दा राज्यको मुद्दा हो, नेपाल प्रेस काउन्सिलले दलितको मुद्दामा संचार माध्यमलाई सचेत गराउने काम गर्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दलित समुदायवाट आएका पत्रकारको समावेशीताको लागि संरचना नै बनाएको जानकारी दिए ।
मिडियामा दलित पत्रकारको वृत्ति विकासमा अप्रत्यक्ष विभेद हुने गरेको तर्फ इंगित गर्दै, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्गाले भनिन्, ‘दलितको मुद्दामा योजना नै बनाएर जानुपर्ने छ’ ।
आन्दोलनको बलमा प्राप्त लोकतान्त्रिक गणतन्त्रमा समेत छुवाछूत र भेदभाव हट्न नसकेकी रहेको सन्दर्भमा राज्य थप जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने देखिएको छ ।, ‘पत्रकारहरूले दलित समुदायको दुःख र मुद्दा आफ्नो मुद्दाको रुपमा अनुभुती गर्नुपर्छ’, उक्त कार्यक्रममा सहभागी हुनुभएका नगरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले भने ।
क्रियाशील दलित पत्रकार संघका अध्यक्ष पवित्रा सुनारले सहजीकरण गरेको कार्यक्रममा नेपाल टेलिभिजनका समाचार सम्पादक निरज साउद, विश्लेषक हिरा विश्वकर्मा, पत्रकार अशोक दर्नाल, सरु सुनार लगायतको सहभागिता रहेको थियो ।
समखबर संवाददाता