समखबर संवाददाता
मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । तर, गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने निरन्तर दबाब बढाइरहेका छन् ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना पार्टीका सबै मन्त्रीलाई फिर्ता गराएर नयाँ अनुहार समावेश गर्न प्रस्ताव गरेलगत्तै जसपाका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पनि आइतबार बालुवाटार पुगेर आफ्ना पक्षका नेताहरूलाई मात्र मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई दबाब बढाएका छन् ।
पार्टीभित्र आफूसहित अध्यक्ष यादव र अशोक राईसहित तीनजनाको हस्ताक्षरलाई मात्रै मान्यता दिनुपर्ने जनाउँदै पार्टीभित्र आफ्नो पक्षमा बहुमत सदस्य रहेको उल्लेख गर्दै बाबुरामले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका हुन् ।
एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि गरेको नयाँ व्यक्तिलाई मन्त्री बनाउन गरेको सिफारिसलाई कार्यान्वयन नगरी बसेका प्रधानमन्त्री देउवालाई जसपाको पनि दबाब कायमै छ । तर, प्रधानमन्त्री देउवाले भने बजेटको प्रस्तावमा सबन्धित मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगरेको चर्चा चले पनि स्वयं देउवाले भने पार्टीभित्र आफू अप्ठ्यारोमा पर्ने विषयमा बुझिदिन आग्रह गरेका छन् ।
एकीकृत समाजवादी र जसपामा भने सोही विषयमा आन्तरिक विवाद चर्किएको छ । आफूलाई हटाउने पार्टीको निर्णयविरुद्ध स्वास्थ्यमन्त्री विरोध खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सार्वजनिक रूपमा आक्रोश पोखेका छन् । सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णय प्रधानमन्त्री देउवाले मान्नुपर्ने भन्दै बचाउ गरेका छन् ।
शीर्ष नेताहरू मन्त्रिपरिषद् पुनर्गठनका पक्षमा उभिए पनि सो पार्टीका बहालवाला मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई भेटेर सो निर्णय कार्यान्वयन नगर्न दबाब बढाउँदै आएका छन् । जसमा देउवा सकारात्मक रहेको मन्त्री आले निकट स्रोतको दावी छ ।
समखबर संवाददाता