समखबर संवाददाता
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो ।
बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।
यो योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइनअनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् । ग्राहकहरूसँग वेबसाइटमा पूर्व(डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरू समेत उपलब्ध हुनेछन् ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना सार्वजनिक गरेको हो । यस्ता नवीनतम प्रविधिहरूको प्रयोग गर्दै बैंकले समय सापेक्षताअनुरूप ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २ सय ८८ शाखा, २ सय ६२ एटीएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय ७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
समखबर संवाददाता