
समखबर संवाददाता
सामाजिक अभियानमा लामो समय देखि सक्रिय रीता परियारले गोरखा नगरपालिकाको उपमेयर पदमा दाबी गरेकी छिन् । गोरखा नगरपालिका वडा नंं ६ मा जन्मिएकी जुझारु युवा नेतृ रीता परियार विद्यार्थीकालदेखि नै राजनीतिमा अग्रसर हुँदै आएकी छिन ।
यसअघि उनले नेपाली कांग्रेसको गण्डकी प्रदेश सदस्य (दलित) पदमा उम्मेदवारी दिएकी थिइन् । उनले तयारी नपुगेका कारण आफू झिनो मतान्तरले पराजित भएको बताइन् ।
विद्यार्थीकालदेखि नै विभिन्न संघसंस्थामा रहेर समाज रूपान्तरणका लागि सक्रिय भूमिका निर्वाह गरेकी उनले पढाइको क्रममा केही वर्ष बेलायत बस्दा पनि कांग्रेस पार्टीमा आबद्ध भई पार्टी संगठनमा सक्रिय भइरहिन् ।
बेलायतमा पनि उनले विभिन्न सामाजिक कार्यमा संलग्न भइरहिन् । त्यहाँबाट नेपाल आएपछि समाज रूपान्तरणको क्षेत्रमा उनको सक्रियता अझ बढ्यो । यसै क्रममा उनले ‘व्यवाहारिक रूपमा जातीय विभेद र छुवाछुत अन्त्य गरौँ’ भन्ने नाराका साथ पश्चिम चाँदनी–दोधारादेखि पूर्व मेचीनगर काँकडभिट्टासम्म ५४ दिन राष्ट्रव्यापी पैदल यात्रा गरेकी थिइन् । अहिले उनी विभेदविरुद्धका विभिन्न सामाजिक काममा संलग्न छिन् ।
देश र जनताको हकहितको लागि सधैँ आफूभन्दा देश र जनतालाई अगाडि राखेर राजनीति गर्ने उनी बताउँछिन् । राज्यले महिलाका लागि कोटा निर्धारण गरे पनि महिलाले पुरुषसरह खुला प्रतिस्पर्धा गर्न सक्छन् भनेर आफू उपमेयरमा उठ्न लागेको उनले बताइन् ।
गोरखा नगरपालिकामा मेयर पदका लागि कांग्रेसबाट १० जनाको दाबी छ । त्यसैगरी उपमेयरका लागि रीतासहित सातजनाले उम्मेदवारी दाबी गरेका छन् । नेपालमै राजनीति मार्फत समाजको परिबर्तनको सपना देखेर बेलायत छोडेर नेपाल आएकी रिता राजनितिक संगै विभिन्न सामाजिक क्रियाकलापमा समेत सक्रिय छिन ।
सामाजिक अभियानका क्रममा आफूले सिकेका कैयौँ अनुभवलाई आफूले राजनीतिका माध्यमबाट आफ्नै माटोमा प्रयोग गर्ने उद्देश्य राखेको उनको भनाइ छ ।
समखबर संवाददाता 

