
समखबर संवाददाता
आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको 5 । पन्ध्र दिनभित्र परेका प्रस्तावको अध्ययन गरी काम अघि बढाउने बताए । उनले हामीले गरेको तयारीअनुसार काम अघि बढाउन सकिएमा जेठको दोस्रो सातादेखि नै सवारी चालक अनुमतिपत्रको काम अघि बढाउने बताए । जिल्लामा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको चालक अनुमतिपत्र वितरण गर्न लागिएको हो ।
जिल्लामा धेरै सवारीसाधन गुड्ने भए पनि सवारी अनुमतिपत्र लिन हेटौँडा वा काठमाडौँ पुग्नुपर्ने बाध्यता छ । हाल यस प्रदेशमा हेटौँडामा एक ठाउँ र काठमाडौँमा चार ठाउँमा सवारी चालक अनुमतिपत्र दिइँदै आएको छ । प्रदेशमा झण्डै १८ लाख व्यक्तिसँग सवारी चालक अनुमतिपत्र भएको प्रारम्भिक तथ्याङ्क छ । शर्माका अनुसार वार्षिक एक लाख नयाँ अनुमतिपत्र वितरण गरिँदै आएको छ । चितवनमा सुरुमा सातामा एकपटक परीक्षा लिने गरी तयारी गरिएको छ ।
यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र दिँदै गर्दा भीडभाड बढी हुने भएकाले जिल्ला समन्वय समितिको मातहतमा रहेको भवनमा कार्यालय स्थानान्तरण गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । साउनसम्ममा कार्यालय सार्ने तयारी छ । अनुमतिपत्रबाहेकका सबै काम यहाँ हुँदै आएका छन् ।
समखबर संवाददाता 

