समखबर संवाददाता
धनगढी, १ वैशाख । सुदूरपश्चिमको कैलाली, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने तयारी गरेको छ । लामो समयको पर्खाइपछि डाक्टर र नर्स बन्ने सपना देख्ने सुदूरपश्चिमेली विद्यार्थीहरूका लागि सुदूरपश्चिम प्रदेशमै अध्ययनको ढोका खुल्ने भएको हो ।
विश्वविद्यालयले एमबीबीएस लगायत विभिन्न विषयमा अध्ययन–अध्यापन सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ । विश्वविद्यालय सभाको चौथो बैठकले चिकित्सा शिक्षा सञ्चालनसँग सम्बन्धित ६ वटा महत्त्वपूर्ण नियमावली पारित गरेको छ ।
यो निर्णयसँगै कानुनी रूपमा विश्वविद्यालय सञ्चालनको बाटो अझ सहज भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनीलकुमार जोशीका अनुसार आन्तरिक तयारीका काम धमाधम भइरहेका छन् ।
विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगसँग ५० सिट एमबीबीएस, ३० सिट बीएससी नर्सिङ, २० सिट मेडिकल ल्याब टेक्नोलोजी र २० सिट बीएससी अप्टोमेट्रीका लागि निवेदन दिइसकेको छ । आयोगले अनुमति दिएमा आगामी शैक्षिक सत्रदेखि नै यी विषयमा पढाइ सुरु हुनेछ ।
भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापनमा पनि विश्वविद्यालय जुटेको छ । गत फागुन महिनामै विश्वविद्यालयले २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरिसकेको छ । फिजियोलोजी, प्याथोलोजी, ईएनटी, जनरल सर्जरी र एनेस्थेरियोलोजी जस्ता महत्त्वपूर्ण विभागमा दक्ष जनशक्ति भर्ना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ ।
यस परियोजनालाई सुदूरपश्चिम सरकारले पनि विशेष चासोका साथ हेरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले गेटा अस्पताललाई ३०० शय्यामा स्तरवृद्धि गर्ने निर्णय भइसकेको र यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।
अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड रुपैयाँ बजेट माग गरिएको छ ।
गेटामा २०८० कात्तिक १ गतेदेखि नै अस्पताल सेवा सञ्चालनमा आइसकेको छ । चालु आर्थिक वर्षका लागि चिकित्सकहरूको पारिश्रमिक लगायतका लागि ५ करोड बजेट प्राप्त भइसकेको छ । छात्रवृत्ति कोटाका लागि पनि बजेट सुनिश्चित भइसकेकाले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूले पनि यहाँ पढ्ने अवसर पाउने देखिन्छ ।
लामो समयदेखि सुदूरपश्चिमका जनताले आफ्नै क्षेत्रमा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेजको माग गर्दै आएका थिए ।
समखबर संवाददाता