समखबर संवाददाता
रामेछाप, १ वैशाख । रामेछापको भँगेरीस्थित पुष्पलाल–गङ्गालाल जन्मस्थलमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता तथा मार्क्सवादी दर्शनशास्त्री हेमन्तप्रकाश ओली ‘सुदर्शन’, मार्क्सवादी सौन्दर्यशास्त्री प्रा. डा. गोपीन्द्र पौडेल, समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’ र पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका परिकल्पनाकार एवम् अध्यक्ष अशोक सुवेदीले संयुक्त रूपमा विश्वविद्यालय उद्घाटन गरेका हुन् ।
पुष्पलाल–गङ्गलाल जन्मस्थल भँगेरीमा रहेको पुष्पलाल–गङ्गालालको सालिकमा २४ गते पूर्वगभर्नर क्षेत्री, दर्शनशास्त्री सुदर्शन, सौन्दर्यशास्त्री पौडेल, महासचिव समरजङ्ग र अध्यक्ष सुवेदीले संयुक्त रूपमा विश्वविद्यालयको ब्यानर उद्घाटन गरेपछि भँगेरी, सिर्जनानगर र मन्थली नगरपालिकाको सभाकक्षमा अध्यापकहरूले शिक्षार्थीहरूलाई पाँच दिनसम्म मार्क्सवाद अध्यापन गरेका थिए । पहिलो ब्याचमा तीसजना विद्यार्थी सहभागी रहेको विश्वविद्यालयले जनाएको छ । साधनस्रोतको सीमितताका कारण पहिलो ब्याचमा यसभन्दा बढी विद्यार्थीलाई पठनपाठन गराउन नसकिएको बताइएको छ ।
समखबर संवाददाता