समखबर संवाददाता


0 प्रतिक्रिया

844

कविता: रोल्पा अहिले रातो छैन !

४ वर्ष अगाडि
काठमाडौ
समखबर संवाददाता

1.1K

पहिले पो
पाखा पखेरामा रगत बग्थ्यो
र रातो थियो रोल्पा
पहिले पो
महिलाहरू पनि बम पड्काउँथे
र तातो थियो रोल्पा
एउटा महाख्यानको
गौरवशाली पातो थियो रोल्पा
अहिले रोल्पा रातो छैन
अहिले रोल्पा तातो छैन ! जुन पाखा पखेराहरूमा
रोल्पाली छोरा छोरीले रगत बगाए
अचेल विदेशी मदिराको वान्ता बग्छ
जुन चुली टाकुराहरूमा
राता झण्डाहरू फहराउँथे हिजो
अचेल एनसेलको टावर उभिन्छ
जुन बस्तीहरूमा
छापामारहरू परेड खेल्थे
अचेल ठेकेदारहरूको चहलपहल छ
तस्करहरूको तजविज चल्छ
सत्ता बन्दूकको नालबाट जन्मन्छ भन्नेहरू
भोट हालेर समाजवाद आउँछ भन्न थालेका छन्
रोल्पा पटक्कै रोल्पाजस्तो छैन !

मानिसहरू सोध्छन-
‘किन रोल्पाले गर्ने हरेक निर्णय
रोल्पाको जस्तो भएन ?’
उत्तर सजिलो छ-
अचेल रोल्पा रोल्पाजस्तो रहेन ।

थप अर्को ब्यारेक हान्न
कागजमा के के के के कोरिबस्ने पासाङ
अचले अर्कै बनेका छन्
सपना बदलेका छन्
सायद
तेश्रो कार्यकालको सपना देख्दै छन !

रोल्पाको वीरतालाई
पूर्वसम्म बिस्तार गर्ने कस्सिने अनन्त
अचेल वर्षमान बनेका छन्
अस्पतालको शैय्याँमा पनि
तन्द्रामै कराउँछ- ‘महासचिव !’

महरा लहराजस्ता बनेका छन्
झक्कु प्रसाद झोक्राएर बस्छन्
अरु अरुको पनि हालत खराव छ
रोल्पा अब रोल्पाजस्तो छैन !

बिचरा कविहरूलाई मात्र गाली नगर
आयोजकहरूलाई पनि नअत्याऊ
अहिले जस्तो छ रोल्पा
उसले त्यस्तै सोच्न सक्छ
बाघबाट खिएर बिरालो बनेको रोल्पालाई
बाघको गर्जन निकाल नभन
उसले त म्याऊ मात्र गर्न सक्छ !

रोल्पा अचेल रातो छैन
रोल्पा अचेल तातो छैन !

© बलराम तिमल्सिना

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *