समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

पानी अभावकै कारण अब डाँडाकटेरीवासीले बसाइँ सर्नु पर्दैन

४ वर्ष अगाडि
सिन्धुपाल्चोक
समखबर संवाददाता

2.7K

२०७२ सालको महाविनाशकारी भुकम्पपश्चात पानीको मुहानै सुकेपछि बलेफी गाँउपालिका–६ डाँडाकटेरीका स्थानीयले खानेपानीका लागि निकै संघर्ष गरे । आधा दशकसम्म उनीहरूले काकाकुलको अवस्थामा बस्नुपर्यो । डाँडाकटेरीका १८ घरधुरीले कयौं पटक त बसाइँ नै सर्नुपर्ने हो की छलफल पनि चलाए ।

पानी नहुँदा यहाँ नुहाइधुवाइ गर्न त यस्तै हो कहिलेकाही त खानकै लागि समेत पानी हुँदैन थियो । वस्तुभाउलाई खुवाउन पनि गाडीमा पानी बोकेर ल्याउनुपर्ने अवस्था थियो । तर, गाउँभन्दा करिब २ सय ५० मिटर तल बसेरीखोलामा भने पानी बगेर त्यसै खेर जान्थ्यो ।

यो पानी माथि गाउँसम्म ल्याउन ठूलै धनराशी खर्चनु पर्थ्यो । तर, स्थानीयसँग त्यत्रो पैसा थिएन । उनीहरूले संघसंस्थालाई हारगुहार गरे । जापानको परराष्ट्र मन्त्रालयले हारगुहार सुन्यो र २९ लाख ५९ हजार दियो । पिस विन्ड्स जापानमार्फत खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले स्थानीय साझेदार संस्थाको रुपमा काम गर्न अग्रसरता देखायो । स्थानीयले जुक्ति निकाले बसेरी खोलाको पानी लिफ्टिङ गरेर सिँधै गाउँ लैजाने र खानेपानी समस्यामुक्त भइ ढुक्कले गाउँमै बस्ने ।

सौर्य उर्जाबाट पम्पिङ गरी बसेरीखोला डाँडाकटेरी खानेपानी आयोजना नाम दिएर २२ मंसिर ०७७ देखि स्थानीयवासी निर्माणमा कस्सिए । चार महिनामै गाउँलले पम्पिङ गरी पहरामा पाइप राखेर गाउँमा पानी पु¥याए । अहिले हरेक घरमा खानेपानीका धारा जडान गरिएको छ ।

तल मुहानबाट माथि गाउँसम्म पानी पु¥याउन दुई ठाउँमा ३–३ एचपीको पम्प र सोलार सञ्चालन गर्ने ९–९ वटा सोलार प्यानल जडान गरिएको छ । मुहानको बिचमा र गाउँको शीरमा तीन ठाँउमा पाँच हजार लिटरको ट्यांकी निर्माण गरिएको छ ।

मुहानमा बनाएको इन्टेकबाट पानीलाई मुहान तल रहेको संकलन ट्याङ्कीमा जम्मा गरिन्छ । उक्त पानीलाई सोलार पम्पको सहयोगमा बीचमा रहेको ट्यांकीमा पु¥याउँछ । बिचको ट्यांकीमा संकलन भएको पानी फेरी सोलार पम्पकै सहायताले गाउँको शीरमा रहेको ट्यांकीमा संकलन गरिन्छ । किफायती प्रविधि जडानसँगसँगै सोलार प्यानल र पम्पसम्बन्धी आधारभुत तालिम उपभोक्ता समितिलाई संस्थाले दिएको छ ।

योसँगै यस्तै काकाकुल अवस्थामा रहेका बस्तीमा धोबिनीखोला गहते कामिश्वारा, सिस्नेरी उनेचौर तल्लो गाउँ, अधेरी खोला सुनखानी, जामुने खोला ढाँड, कदमफेद पिपलटार खानेपानी आयोजना गरी ६ वटा खानेपानी आयोजना सम्पन्न गरेको पिस विन्ड्स जापानका टिम लिटर डा। रामचन्द्र भुषालले बताए ।

तरकारी बेचेर गाउँमै आम्दानी
आयोजना सम्पन्न भएपछि स्थानीयको खानेपानी समस्या मात्रै समाधान भएको छैन खेती किसानीबाट आय आर्जन पनि बढेको छ । स्थानीय मनमाया तामाङ भन्छिन्, ‘धारो राखेदेखि धेरै सजिलो भएको छ । लसुन, प्याज, साग खान खाँचो भएको छैन । एक वर्षमा एउटा टनेल भित्रको गोलभेडा बेचेर ३५ हजार कमाइ भयो ।’

बलेफी गाउँपालिका अध्यक्ष गंगा तामाङ तरकारी खेतीबाट आम्दानी हुन थालेपछि स्थानीयले यसैलाई पेशा बनाउने तयारी गरेका छन् । टनेलमा मल्चिङ र थोपा सिँचाई प्रविधिको प्रयोगले उत्पादन दोब्बर भएपछि किसानहरू निकै हौसिएका छन् । ‘खुला जग्गामा खेती गर्दा खासै राम्रो भएन बिस्तारै टनेल बढाउँदै गयौँ,’ स्थानीय नेत्र तामाङले भने । उनी भन्छन्, ‘टनेलमा भर्खर लगाइएका गोलभेँडाका बिरुवादेखि फल्न थालेको गोलभेँडा र टिप्न तयार भएका गोलभेँडा छन्, टनेलबाट दोब्बर आम्दानी हुँदोरहेछ ।’

अहिले खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, फर्सीको मुन्टा, करेला, धनिया, काँक्रो, घिरौला, सिमी, काउलीजस्ता तरकारी फलाएर किसानले मनग्य आम्दानी गरीरहेको आइस्यापका जिल्ला कार्यक्रम संयोजक गोपिकृष्ण दंगालले बताए । पहिला एक घण्टाको बाटो हिँडेर पानी ल्याउनुपर्ने अवस्थाका बस्तीमा अहिले घर घरमा धारा निमार्ण भएको छ । पानीको सुविधा भएपछि तरकारी खेती गरेर कृषकको आम्दानीमा ५२ प्रतिशतले वृद्धि भएको बलेफी–४ का वडाध्यक्ष सूर्य तामाङले बताए ।

खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाबाट मेलम्ची नगरपालिका–९ का १५ कृषक समुहका दुई सय २१ घरधुरी, सुनकोसी गाउँपालिका–६ का १० कृषक समुहका दुई सय घरधुरी र बलेफी गाँउपालिका, वडा नम्बर ४ र ६ का दुई सय ५६ घरधुरी लाभान्वित भएका छन् ।

2.7K

Dandakateri residents do not have to migrate due to lack of water

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *