समखबर संबाददाता
काठमाडौं, पुस ६ । ताप्लेजुङमा बारुद भर्ने क्रममा भरुवा बन्दुक अचानक पड्किँदा एक युवकको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार शेर्पा स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा भरुवा बन्दुकमा बारुद भरिरहेका बेला बन्दुक पड्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गोली घाँटीमा लागेपछि उनी गम्भीर घाइते भएका थिए र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी स्थानीयवासीमार्फत वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित गर्दै मृतकको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट भरुवा बन्दुक बरामद गरिएको छ भने घटना दुर्घटनावश भएको हो वा अन्य कारणले भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। साथै, मृतकसँगै अन्य व्यक्ति थिए–थिएनन् भन्ने विषयमा पनि छानबिन अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ। प्रहरीले अवैध तथा असावधानीपूर्वक हतियार प्रयोग नगर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
समखबर संबाददाता