समखबर संबाददाता


0 प्रतिक्रिया

668

उपकुलपतिमाथि कार्यकक्षमै कालोमोसो

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

835

काठमाडौं, पुष,६ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई मोसो दलेको छ । विश्वविद्यालयलाई कमजोर पारेको, भ्रष्टाचार र अनियमितताको धन्दा चलाएको भन्दै कालोमोसो दलेर भौतिक कारबाही गरेको क्रान्तिकारीले बताएको छ।

मोसो दलेपछि विज्ञप्ति जारी गर्दै उसले भनेको छ, ‘लामो समयदेखि वाल्मीकि क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयको बागडोर सम्हालेर राज्य र विश्वविद्यालयको सम्पत्ति लुट्न सत्तासीन पार्टीका नेताको फेरो समाएर निवासमा धाउँदै मोटो रकम बुझाएर उपकुलपति बने । र, आफ्नो पदको दुरुपयोग गरी संस्कृत विश्वविद्यालयलाई कमजोर पार्ने, भ्रष्टाचार र अनियमितताको धन्दा चलाउने उनलाई कारबाही गर्न बाध्य भएका हौं ।’

उनले भ्रष्टाचार गरेर काठमाडौंको गोलढुंगा, ललितपुरको खोकना र गृहजिल्ला दाङमा जग्गाजमिन किनेको र पछिल्लो समय डोल्मा कम्पनीमा आबद्ध रहेकोसमेत क्रान्तिकारीको आरोप छ । यस्तै, उपकुलपति नेपाललाई कालोमोसो दल्नुको विभिन्न आठ वटा कारण पनि क्रान्तिकारीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

भ्रष्टाचारको आरोप लागेका माधव अधिकारीलाई लेनदेनमा पुनः रजिष्ट्रारमा सिफारिस गरेको, आफू उपकुलपतिमा नियुक्त हुन विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको, घुस खुवाएर नियुक्ति लिएको, परीक्षा नियन्त्रक हुँदा आफूनिकट विद्यार्थीलाई पास गराएको, कार्यालयभन्दा नेताका निवासमा बढी धाउने तथा विश्वविद्यालयको जग्गा आफूनिकट व्यक्ति वा कम्पनीलाई दिन ठूलो आर्थिक चलखेल गरेको आरोप उनीमाथि लगाइएको छ ।

‘विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदा पनि त्यतातर्फ कुनै चिन्ता चासो नलिई ठेकेदारहरुसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाएर विधिविपरीत भुक्तानीको निर्णय गरेको,’ विज्ञप्तिमा उल्लेख छ, ‘विश्वविद्यालयको जग्गासम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न विलम्ब गरेको ।’

भ्रष्टाचार, लुटखसोट र अनियमिततामा संलग्न जोकोहीमाथि कारबाही गर्ने चेतावनी दिँदै क्रान्तिकारीले त्यसमा सहभागी हुन युवा, विद्यार्थी र आम नागरिकलाई आह्वानसमेत गरेको छ ।

835

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *