समखबर संवाददाता


0 प्रतिक्रिया

320

इन्धन मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीको माग

२ हप्ता अगाडि
समखबर संवाददाता

400

काठमाडौं, २ चैत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल आयल निगमले चैत २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको भोलिपल्ट महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले एकैपटक यति धेरै मूल्य बढ्दा यातायात व्यवसायी र आम उपभोक्तालाई प्रत्यक्ष असर परेको जनाएको छ ।

महासंघका महासचिव डकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर रहने भएकाले मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख छ ।

यातायात व्यवस्था विभागले स्वचालित प्रणालीबाट भाडा समायोजन गर्दै आएको भए पनि विगत २०७८ फागुन २२ गतेदेखि भाडा समायोजन नभएको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।

महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरूलाई आधार मानेर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न माग गरेको छ । विज्ञप्तिमार्फत संघीय रुटको हकमा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतका रुटको हकमा सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयबाट यथाशीघ्र भाडा समायोजन गरिदिन सरकारको ध्यानाकर्षण गराइएको छ ।

यातायात व्यवसायीले नेपाल आयल निगमलाई केवल मूल्यवृद्धि गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् । उनीहरूले निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गर्दै वैज्ञानिक विधि अपनाएर सहज आपूर्ति व्यवस्था मिलाउन समेत नेपाल सरकारसमक्ष माग गरेका छन् ।

400

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *