समखबर संबाददाता
काठमाडौं, ९ चैत। काठमाडौँ उपत्यका विकास प्राधिकरणले टोखा नगरपालिकामा लामो समयदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गराएको छ । टोखा नगरपालिकाको वडा नम्बर ७ स्थित दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचनाहरूमा प्राधिकरणले डोजर चलाएको हो ।
प्राधिकरणको जिल्ला आयुक्तको कार्यालयका अनुसार उक्त क्षेत्रमा करिब १० रोपनी जग्गा अतिक्रमण गरी टहराहरू निर्माण गरिएका थिए । ती संरचनाहरू हटाउन प्राधिकरणले पटक–पटक सूचना जारी गरे पनि अटेर गरेपछि आइतबार बिहानैदेखि सुरक्षाकर्मीको सहयोगमा डोजर प्रयोग गरी संरचना भत्काइएको हो ।
रातोपाटीसँग कुरा गर्दै प्राधिकरणका एक अधिकारीले यो अतिक्रमण धेरै अगाडिदेखि नै रहेको र हटाउन लामो समयदेखि प्रयास भइरहेको बताए । उनका अनुसार प्राधिकरणले पछिल्लो पटक २०८२ साल असार १५ गते सात दिने सार्वजनिक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरेको थियो । तर, स्थानीय तह र सम्बन्धित व्यक्तिहरूले उक्त सूचनाको बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग समन्वय गरी बल प्रयोग गरिएको हो ।
प्राधिकरणमा परेको उजुरी अनुसार उक्त सार्वजनिक जग्गामा घर टहरा बनाई भाडामा लगाएर भाडा असुली धन्दा भइरहेको थियो । सार्वजनिक जग्गा व्यक्तिको लाभका लागि प्रयोग भएको पाइएपछि प्राधिकरणले कठोर कदम चालेको हो ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाउँदै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको बुझिएको छ । केही सञ्चारमाध्यम र उजुरीहरूमा वडा नम्बर ७ का जनप्रतिनिधिको समेत संलग्नता रहेको चर्चा चलेको थियो ।
समखबर संबाददाता