समखबर संवाददाता
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरेको अनुगमन तथा मूल्याङ्कन ईकाइको उद्घाटन मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच गरेका छन् । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले केन्द्र देखि तल्लो तह सम्मका ईकाहरुबाट सम्पादित सांगठनिक कामकारवाहीहरुको नियमित रुपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यकासाथ उक्त ईकाइ स्थापना गरेको बताए । अनुगमनको क्रममा देखिएका सुधारका पक्षहरुमा तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमीत कार्यहरुको समयमै अध्यावधिक गर्न समेत सहयोग पुग्ने बताए ।
उनले राज्यले सुम्पिएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्न सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भएर लाग्न निर्देशन समेत दिएका थिए । सशस्त्र प्रहरी बल, नेपालको सम्पूर्ण ईकाइहरुमा कार्यरत कमाण्डर र सकल दर्जाले आ–आफ्नो पदीय दायित्व र जिम्मेवारी अनुसार सम्पादन गरेको काम कारवाहीको नियमित अनुगमन तथा मूल्याङ्कन हुने र सोही मूल्याङ्कनलाई समेत वार्षिक युनिट निरीक्षणको मूल्यांकन तथा आर्थिक वर्षको अन्तिममा गरिने मूल्याङ्कनमा जोडिने हुँदा सरुवा बढुवा लगायतका वृत्ति विकासमा कर्मचारी स्वयमले सम्पादन गर्ने काम कारवाही निर्णायक हुने प्रणाली विकासमा आफूले जग बसाउन खोजेको बताए ।
उनले उक्त ईकाइले आजैबाट आफ्नो कार्य सुरु गरेको बताए । सशस्त्र प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा रहने हुँदा स्पष्ट ढङ्गले कार्यान्वयन गर्न सक्ने, सबै खालका कामकारवाहीको नियमित अनुगमन हुने, सबै तहका कमाण्डरहरु सतर्क रहने, फिल्डमा भएको काम कारवाही सोझै महानिरीक्षकमा जानकारी हुँदा समयको बचत एवं निर्देशनमा स्पष्टता हुने, माथिल्लो निकायको प्रत्यक्ष सुपर भिजनले तल्लो तहमा बसेर काम गर्ने कमाण्डर तथा जवानहरुलाई थप जिम्मेवार बनाउने,कार्यसम्पादनमा स्पष्ट र प्रभावकारीता आउने, कामप्रति उत्तरदायी हुने बानीको विकास हुने, दैनिक पिटी–परेड, लेक्चर, रोलकल लगायतका फौजी क्रियाकलापहरुको निरन्तरताले शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुको साथै कार्यसम्पादनमा प्रभावकारीता आई संगठनको उद्देश्य प्राप्तीमा योगदान पुग्ने कुरामा विश्वास जनाए।



समखबर संवाददाता