समखबर संबाददाता
काठमाडौं, पुष, २१ । रौतहटको बौधीमाई नगरपालिका– १, भुवाली चाेकनजिक सोमबार बिहान विद्युतीय गाडीको ठक्करबाट एक मोटरसाइकलचालकको मृत्यु भएको छ।
पिपरियाबाट अजगैबी जाने भित्री सडकखण्डमा करिब पौने ९ बजे बा.प्र. ०३–००१ ज ७६६ नम्बरको विद्युतीय गाडीले अनटेस्ट प्लेटिना मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलचालक, बौधीमाई नगरपालिका– २, इनर्वा बस्ने २३ वर्षीय दीपेन्द्र बैठा गम्भीर घाइते भएका थिए।
घाइते बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा बिहान सवा १० बजे चिकित्सकले मृत घोषित गरेका थिए। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न विद्युतीय गाडी, मोटरसाइकल तथा गाडीचालक राजपुर नगरपालिका– ५ बस्ने २५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट प्रहरी टोली खटाइएको थियो भने जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक रुद्रराज कँडेलको कमान्डमा थप टोली घटनास्थल पुगेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट करिब तीन किलोमिटर दक्षिणमा पर्दछ र अनुसन्धान जारी रहेको छ।
समखबर संबाददाता