समखबर संबाददाता
काठमाडौँ, १५ माघ । बुधबार देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। सिराहा, धनुषा, महोत्तरी, सुर्खेत, चितवन र भक्तपुरमा भएका दुर्घटनाहरूमा तीब्र गति र सवारी अनियन्त्रित हुनु मुख्य कारण देखिएको प्रहरीले जनाएको छ।
सिराहा, धनुषा र महोत्तरीमा भएका दुर्घटनामा मोटरसाइकल र अन्य सवारीसाधन आपसमा ठोक्किँदा मानवीय क्षति भएको छ भने चितवन र भक्तपुरमा पनि सवारी दुर्घटनाका कारण ज्यान गएको हो। सुर्खेतमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको बताइएको छ।
प्रहरीका अनुसार भक्तपुरमा टिपर चालक र सुर्खेतमा अटो चालकलाई नियन्त्रणमा लिइएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको भन्दै चालकहरूलाई गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ।
समखबर संबाददाता