समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

स्वास्थ्य बिमा गरेका नागरिकले ६ महिना बितिसक्दा पनि उपचार सुविधा पाएनन्

४ वर्ष अगाडि
जुम्ला
समखबर संवाददाता

2.4K

०७८ फागुनमा स्वास्थ्य बिमा गरेका जुम्ला हिमाका बासिन्दाले अझै पनि निःशुल्क औषधि पाएका छैनन् । हिमा गाउँपालिका–१ देवारगाउँकी मेनका शाही रक्तस्राव भएपछि उपचारका लागि ३ साउनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइन । उनको तीन महिनाको गर्भावस्थामा रक्तस्राव भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएकी थिइन । उनले भनिन् ‘स्वास्थ्य बिमा गरेका छौँ भनेर घरबाट पैसा पनि नलिइ आयौँ । उपचारको क्रममा अस्पतालमा स्वास्थ्य बिमाको कार्ड दिँदा इन्ट्री नभएको र कार्यान्वयनमा नआएको बताए ।’

बिरामी परेको बेला स्वास्थ्य सेवा लिन सहज होला भनेर फागुन ०७८ मा स्वास्थ्य बिमा गरेको उनले बताइन् । उनले भनिन्, ‘स्वास्थ्य बिमा कार्यक्रमका कर्मचारीले जेठ ०७९ देखि कार्यान्वयनमा आउँछ भनेका थिए । तर, साउन महिनामा पनि बिमाको फाइल इन्ट्री नै भएको रहेनछ ।’ स्वास्थ्य बिमा कार्यक्रमका कर्मचारीले समयमा इन्ट्री नगरी कार्यान्वयनमा नल्याएउँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । अब पैसा दिने कोही पनि भएको र साथमा पैसा पनि नभएकाले उपचारै नगराइ फर्कनु पर्ने अवस्था आएको शाहीले बताइन् ।

स्वास्थ्य बिमा कार्यक्रम जिल्ला संयोजक कमल रावतका अनुसार त्यो क्षेत्रमा काम गर्ने बिमा दर्ता सहयोगी शेरबहादुर शाहीले बिमा फाइल समयमा नल्याएको बताए । फिल्डमै भएकाले अझै सम्पर्क हुन नसकेको उनीहरुको भनाइ छ ।

६० हजारभन्दा बढीको स्वास्थ्य बिमा
जुम्लामा ६० हजार एक सय ५६ जनाले स्वास्थ्य बिमा गरेको जिल्ला संयोजक रावतले बताए । उनले भने, ‘सामान्य बिमाको पैसा तिरेर ३१ हजार तीन सय ५४ जनाले बिमा गरेका छन् भने बिमा रकमको ५० प्रतिशत रकम तिरेर ८ सय ९ जना महिला स्वयंसेविकाले स्वास्थ्य बिमा गरेका छन् ।

अतिविपन्न २५ हजार ३ सय ३२ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको स्वास्थ्य बिमा कार्यालय जुम्लाले जनाएको छ । यस्तै, ७० वर्ष माथिका २ हजार ३ सय ५७ जना जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा भएको छ ।’

एचआइभी एड्स रोगी तीन जना, टिबी रोगी नौ जना र ‘क’ वर्गका पूर्ण असक्त दुई सय ५४ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ ।

चन्दननाथका सबैभन्दा बढीको बिमा
जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा बसोबास गर्ने नागरिकले स्वास्थ्य बिमा गरेका छन् । चन्दननाथमा १४ हजार सात सय ७९ जना, गुठीचौरमा पाँच हजार सात सय ७५ जना, हिमामा ४ हजार ५ सय २० जना, कनकासुन्दरीमा ५ हजार ३ सय ८ जना, पातारासीमा ८ हजार ३ सय १८ जना, सिंजामा ४ हजार ८ सय ७७ जना, तातोपानीमा ९ हजार १ सय ८६ जना र तिलामा ७ हजार ३ सय ९५ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

तातोपानी गाउँपालिकामा तत्कालिन गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जनतासँग अध्यक्ष कार्यक्रमअन्र्तगत १० लाख बजेट विनियोजन गरी विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरेका थिए ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तीन सय ५४ जना स्वास्थ्यकर्मी र कर्मचारीको एकमुष्ट स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा कार्यालय जुम्लाले जनाएको छ ।

2.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *