समखबर संबाददाता
काठमाडौँ, मङ्गलबार १८ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा बस्दै छ। बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ वाम दलबीच भएको एकता सहमतिमा हस्ताक्षर तथा पछिल्लो सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्ने मुख्य एजेन्डा रहेको पार्टी नेतृत्वले जनाएको छ।
नेता हरिबोल गजुरेलका अनुसार आजको बैठक छोटो हुने अपेक्षा गरिएको छ। “बैठक लामो हुँदैन होला। कसैले बोल्न चाहेमा समय हुनेछ। पार्टी एकता सहमति र सचिवालयको निर्णय अनुमोदन प्रमुख विषय हुन्,” उनले भने।
यसैबीच, पार्टीभित्र असन्तुष्ट देखिएको जनार्दन शर्मा समूह भने आजको बैठकमा सहभागी नहुने भएको छ। सो समूहले ललितपुरमा पत्रकार सम्मेलन गर्दै ‘प्रगतिशील वाम ध्रुवीकरण’ सम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
शर्मा समूहले पार्टीभित्र नेतृत्व हस्तान्तरणको प्रक्रिया थाल्नुपर्ने र संगठनात्मक पुनर्गठन आवश्यक भएको भन्दै आएको छ। उनका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अडानमा सुनुवाइ नभएपछि आफूहरू वैकल्पिक राजनीतिक कदमबारे छुट्टै तयारीमा रहेको सन्देश सार्वजनिक गर्ने बताइएको छ।
माओवादी केन्द्रभित्रको आन्तरिक बहस र असन्तुष्टि तीव्र बनेको समयमा बस्न लागेको आजको बैठकलाई पार्टीभित्रको आगामी रणनीति र वाम एकताको दिशानिर्देश गर्ने महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।
समखबर संबाददाता