समखबर संबाददाता
काठमाडौं मंसिर,१५ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण शाहको निधन भएको छ। उनी केही दिनदेखि स्वास्थ्य समस्या देखिएपछि काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत थिए।
परिवारका नजिकका स्रोतका अनुसार रामनारायण शाहको शरीरमा रगत जम्ने समस्या (ब्लड क्लट) देखिएपछि चिकित्सकको टोलीले आईसीयूमा राखेर उपचार गरिरहेको थियो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। तर निरन्तरको उपचारको प्रयासका हुँदै पनि आज अस्पतालमै उनको निधन भएको सचिवालयले पुष्टि गरेको छ।
चिकित्सकहरूले प्रारम्भिक रूपमा मुटुसम्बन्धी जटिलता र रगत जम्ने समस्या एकसाथ देखिएकाले स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको बताएको स्रोतले जनाएको छ।
निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा शोक संदेश तथा श्रद्धाञ्जली व्यक्त गर्नेहरूको भीड बढेको छ। मेयर बालेन शाहका समर्थक, जनप्रतिनिधि, विभिन्न दलका नेता तथा सर्वसाधारणले रामनारायणप्रति श्रद्धाञ्जली अर्पण गर्दै बालेन परिवारप्रति समवेदनासमेत प्रकट गरेका छन्।
समखबर संबाददाता