समखबर संबाददाता


0 प्रतिक्रिया

704

बागमतीका १० जिल्लाबाट एमाले नेतृत्वका दाबीकर्ता

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

880

काठमाडौं,मंसिर,२४ । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा बागमती प्रदेशबाट केन्द्रीय नेतृत्वमा ‘प्रमोसन’ हुन चाहने नेताहरूको भिड लागेको छ ।

देशकै राजनीतिमा निर्णायक प्रभाव राख्ने बागमती प्रदेशमा एमाले महाधिवेशनको माहोल उच्च बन्दै गएको हो ।

काठमाडौँ उपत्यकाबाहेक १० जिल्लाबाट मात्रै एमाले नेतृत्वमा आकांक्षीहरूको चाप बढ्दो देखिन्छ । मकवानपुरदेखि दोलखासम्मका पहाडी जिल्लाहरूबाट सयभन्दा बढी नेताहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म दाबी पेस गरेका छन् भने उनीहरू आन्तरिक दौडधुप र लबिइङमा केन्द्रित छन् ।

जेनजी आन्दोलनपछि पार्टीभित्र पुराना पदाधिकारीहरू फेरिने वा नफेरिने भन्ने विषयमा गम्भीर बहस चलिरहेका बेला बागमतीका आकांक्षीहरूले आफ्नो दाबीलाई सशक्त बनाइरहेका छन् । एमालेमा आबद्ध युवा पङ्क्ति पनि नेतृत्वमा दाबी गर्दै पुराना नेतृत्वलाई बिदा गर्नुपर्ने मागसहित अघि बढेको देखिन्छ ।

आगामी मंसिर २७ बाट सुरु हुने एमालेको ११औँ महाधिवेशनमा बागमती प्रदेशका ‘हेभीवेट’ नेताहरूबिच प्रतिस्पर्धा हुने संकेत देखिन्छ । विशेषगरी, पदाधिकारीतर्फ सचिव पदमा नेताहरूको आकांक्षा बढी देखिएकाले चुनावी माहोल पनि उच्च हुने संकेत छ । एमालेका सचिव बन्न गोकुल बास्कोटादेखि अरुण नेपालसम्मले आकांक्षा व्यक्त गरेका छन् ।

सचिव पदमा काभ्रेका नेता तथा पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले आफ्नो आकांक्षा सार्वजनिक गरेका छन् । उनको दाबीले उक्त पदको प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ । सोही पदमा सिन्धुपाल्चोकका अरुण नेपालको पनि दाबी छ ।

तत्कालीन नेकपा विभाजन र एमालेभित्रको आन्तरिक विवादको समयमा नेपाल एमालेको ‘१० भाइ टोली’ मा खुलेका थिए भने बास्कोटा केपी ओलीनिकट रहेका थिए । हाल बास्कोटा ओली क्याम्पबाट बाहिरिएका छन् भने नेपाल अझै सोही समूहमा छन् । नेपाल अष्टलक्ष्मी शाक्य टिम (अमृत बोहोराका विश्वासपात्र) हुन् ।

एमालेको पदाधिकारीमा सिन्धुपाल्चोकबाट स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सचिवभन्दा माथिको पदमा आकांक्षा व्यक्त गरेका छन् । उनी उप–महासचिव पदका लागि उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।

यता दोलखाबाट पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल पनि सचिव पदका आकांक्षी हुन् भने पूर्वमन्त्री पार्वत गुरुङ पनि सोही पदका बलिया दाबेदार मानिन्छन् । पोखरेल र गुरुङ दुवै अध्यक्ष ओलीका विश्वासपात्र हुन् ।

एमाले महाधिवेशनको सरगर्मीसँगै दोलखामा लामो समयदेखि चल्दै आएको दुई नेताहरूको अन्तरविरोध र शक्ति–संघर्षका कारण थप रोचक बनाउने देखिन्छ । दोलखाको राजनीतिमा उनीहरूबिच प्रतिस्पर्धा पुरानै हो ।

दोलखाबाटै रचना खड्का र ईश्वरी रिजाल पनि सचिव पदमा आकांक्षी छन् । खड्का बागमती प्रदेशकी पूर्वमन्त्रीसमेत हुन् । उनी पनि एमालेको ‘१० भाइ टोली’ पक्षधर हुन् ।

रामेछापबाट संगठन विभागका सचिव माधव ढुंगेलले पदाधिकारी (सचिव) मा आकांक्षा व्यक्त गरेका छन् । चितवनबाट हाल केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नाम पनि सचिव पदमा चर्चामा छ ।

चितवनबाट सुरेन्द्र पाण्डे पनि एमाले महाधिवेशनमा पदाधिकारी उठ्ने तयारीमा छन् । उनी ईश्वर पोखरेल टिमबाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् । मकवानपुरबाट महेश बर्तौला पनि पदाधिकारी उठ्ने तयारीमा छन् । एमाले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका उनले पदाधिकारी बन्ने आकांक्षाअनुसार लबिइङ गरिरहेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनी हाल ओलीनिकट छन् ।

880

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *