समखबर संबाददाता
काठमाडौं, पुष, ८ । २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति धादिङको आयोजनामा पत्रकार सम्मेलन सम्पन्न भएको छ। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ८ नम्बर ब्युरो सेक्रेटरी श्यामकुमार के.सी. ‘दीपक’ को प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि दिपकले देशको वर्तमान परिस्थिति, जेन जी आन्दोलन र पार्टीको धारणाबारे प्रकाश पार्दै आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नहुन र बहिष्कार गर्न अनुरोध समेत गर्नु भयो । संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको संसदीय व्यवस्थाले निरन्तरता पाएसँगै देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था झनै विकराल बन्दै गएको उहाँले बताउनु भयो ।
पार्टीले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनले संदीय व्यवस्थाको असफलता उजागर गरेको दीपकले दावी गर्नु भयो । । प्रमुख अतिथि दीपकले थप स्पष्ट गर्नु भयो, “सरकार न त जनआन्दोलनको मर्म अनुसार रहेको छ , न त संविधान र कानुनको मापदण्ड अनुसार बनेको छ । ‘कठपुतली सरकार’ हो यो। जेन्जीहरुले उठाएका सामाजिक सञ्जाल सञ्चालन बाहेक कुनै पनि माग पुरा भएको छैन । सरकार न जेन्जीको न त नेपाली जनताको सरकार हुन सकेको छ । भ्रष्टाचार मौलाउँदै गएको, रोजगारीको अवस्था कमजोर भएको र त्यसकै कारण युवाहरूको पलायन बढ्दै गएको अवस्थामा निर्वाचन भन्दा स्वाधिन संयुक्त सरकार गठनको आवश्यकता छ ।”
पत्रकारहरुको जिज्ञासाहरुको उत्तर दिदै उहाँले अहिलेको सरकार असंवैधानिक रहेको र निर्वाचनको पनि कुनै औचित्य नरहेकाले निर्वाचन वहिष्कार गरिने उहाँले बताउनु भयो । त्यस्तै, साम्राज्यवाद र विस्तारवादद्वारा निर्देशित संसदीय निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्दै स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्नु नै अहिलेको एकमात्र वैकल्पिक मार्ग भएको धादिङका इन्चार्ज अमृत अधिकारीले बताउनु भयो । ‘निर्वाचन भन्दा पनि देशको विकास र निकाश पहिलो आवश्यकता हो । निर्वाचन बहिष्कार मात्र होइन, सडकमा उत्रिएर निर्वाचनको बहिष्कारसँगै विरोध पनि गर्नेछौं’ उहाँले भन्नु भयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति धादिङका सचिव, धादिङ उद्योग बाणिज्य संघका रमेश अधिकारी , नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष लगायत पत्रकारहरुको कार्यक्रममा उपस्थिति थियो ।
समखबर संबाददाता