समखबर संबाददाता


0 प्रतिक्रिया

572

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरोधमा काठमाडौंमा प्रदर्शन

३ महिना अगाडि
समखबर संबाददाता

715

काठमाडौं, पुष, २३ । सार्वभौम राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको घोर निन्दा गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। संयुक्त संघर्ष समितिको आयोजनामा माइतीघर मण्डलामा सम्पन्न प्रदर्शनमा विभिन्न कम्युनिष्ट तथा वामपन्थी दलका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

आयोजकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाको डेल्टा फोर्सले सन् २०२६ जनवरी ३ (२०८२ पुस १९) मा भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरी निर्वाचित राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेन्सलाई पक्राउ गरी अमेरिका लगिएको घटनाप्रति विश्वभर चिन्ता र विरोध बढिरहेको छ। अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा सार्वभौम सत्ताको सिद्धान्तको खुलेआम उल्लंघन गर्दै गरिएको यो हस्तक्षेपलाई आयोजकहरूले ‘नाङ्गो आक्रमण’को संज्ञा दिएका छन्।

प्रदर्शनमा सहभागी नेताहरूले लागूऔषध कारोबार र आतंकवाद सहयोगको आरोप लगाउँदै अमेरिकाले राष्ट्रपति मादुरोमाथि गरेको हस्तक्षेप वास्तविकतामा भेनेजुएलाको प्राकृतिक स्रोत, विशेषगरी तेलमाथि कब्जा जमाउने उद्देश्यले गरिएको बताएका छन्। ट्रम्पले जनवरी ३ मा पत्रकार सम्मेलन गर्दै अर्को व्यवस्था नहुन्जेल भेनेजुएलाको सत्ता अमेरिका स्वयंले सञ्चालन गर्ने घोषणा गर्नु तथा विरोध गर्नेहरूलाई नछोड्ने चेतावनी दिनु साम्राज्यवादी दादागिरीको पराकाष्ठा भएको उनीहरूको भनाइ थियो।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेल ‘गौरव’ले अमेरिकाले संसारभर साम्राज्यवादी हस्तक्षेप बढाइरहेको भन्दै भेनेजुएलामाथिको आक्रमण सिंगो उत्पीडित राष्ट्रहरूमाथिको आक्रमण भएको बताए। उनले भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजमाथि अमेरिकाले पटक–पटक हत्या प्रयास गरेको प्रसंग उल्लेख गर्दै त्यहाँको प्राकृतिक स्रोत जनताको हातमा ल्याइएकै कारण अमेरिका असन्तुष्ट बनेको दाबी गरे। “न्यायपूर्ण आन्दोलन कहिल्यै हार्दैन, अमेरिकी साम्राज्यवादविरुद्धको संघर्षमा अन्ततः जनताकै जित हुनेछ,” उनले भने।

नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र वास्तोलाले अमेरिकाले विश्वभर युद्ध र आतंक फैलाइरहेको आरोप लगाउँदै ट्रम्प शान्ति पुरस्कारका होइन, हिटलर र मुसोलिनीसरह इतिहासमा लेखिनुपर्ने पात्र भएको टिप्पणी गरे। उनले अमेरिकी युद्ध बजेट शिक्षा र स्वास्थ्यमा लगानी भएको भए विश्वका धेरै समस्या समाधान हुन सक्ने बताए।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले भेनेजुएलामाथिको आक्रमणको मूल कारण त्यहाँको साधनस्रोत कब्जा गर्नु रहेको उल्लेख गर्दै उपनिवेशवादविरुद्धको संघर्ष अझ सशक्त बनाउनुपर्ने धारणा राखे। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपाका संयोजक लोकनारायण सुवेदी र नेकपा जनपक्षका नेता वसन्त वोगटीले पनि अमेरिकी साम्राज्यवादको विरोध गर्दै भेनेजुएली जनताको पक्षमा ऐक्यबद्धता जनाए।

कार्यक्रममा नेपालमा पनि एमसीसी, एसपीपी जस्ता सम्झौतामार्फत अमेरिकी हस्तक्षेप बढ्दै गएको आरोप लगाउँदै त्यसको विरोध गर्नुपर्ने आवाज उठाइएको थियो। साथै, वर्तमान सरकारलाई ‘साम्राज्यवादी शक्तिको कठपुतली’ भन्दै फागुन २१ गते हुन लागेको संसदीय निर्वाचन बहिष्कार गर्न आह्वान गरिएको थियो।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकी पोलिटब्युरो सदस्य शारदा महतको सञ्चालनमा सम्पन्न कार्यक्रममा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘भेनेजुएलाको पक्षमा ऐक्यबद्धता’, ‘राष्ट्रपति मादुरो र श्रीमतीलाई बिना शर्त रिहा गर’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

715

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *