समखबर संबाददाता
काठमाडौं, पुष, १८ । सन् २०२५ मा नेपाल घुम्नका लागि विभिन्न देशबाट ११ लाख ५८ हजार चार सय ५९ पर्यटक हवाईमार्गबाट आएका छन् । गत वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार पाँच सय ४८ पर्यटक आएको पर्यटन बोर्डको तथ्यांक छ । नेपाल घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय रहेका छन् । भारतबाट सन् २०२५ मा दुई लाख ९२ हजार चार सय ३८ पर्यटक हवाईमार्गबाट नेपाल घुम्न आएको बोर्डले जनाएको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको अमेरिकाबाट एक लाख १२ हजार तीन सय १६ पर्यटक आएका छन् । त्यस्तै, चीनबाट ९५ हजार चार सय ८०, बेलायतबाट ५८ हजार ६ सय ८४, बंगलादेशबाट ५७ हजार पाँच सय ४५, अष्ट्रेलियाबाट ४९ हजार तीन सय ५७, श्रीलंकाबाट ३७ हजार पाँच सय ५०, थाइल्यान्डबाट ३० हजार दुई सय ४३, जर्मनीबाट ३० हजार दुई सय २७ र जापानबाट २४ हजार सात सय ६३ पर्यटक नेपाल घुम्न आएको बोर्डले जनाएको छ ।
कोभिड–१९ का कारण खस्केको पर्यटन क्षेत्रमा सन् २०२५ मा शतप्रतिशत सुधार भएको बोर्डले जनाएको छ । कोभिड अघि सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक भित्रिएका थिए । त्यसयता भने पर्यटक आगमनमा सुस्तता आएको थियो, तर विस्तारै सुधार हुने क्रममा सन् २०२४ मा ११ लाख ४७ हजार र सन् २०२५ मा ११ लाख ५८ हजार पर्यटक आगमन भएको हो ।
सन् २०२५ को अन्तिम महिना डिसेम्बरमा ९८ हजार एक सय ९० पर्यटक भित्रिएका छन् । सबैभन्दा धेरै भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६ सय ८०, अमेरिकाबाट सात हजार ७७, बंगलादेशबाट ६ हजार ६ सय पाँच र अष्ट्रेलियायाबाट चार हजार नौ सय ८० पर्यटक आएका छन् ।त्यस्तै, थाइल्यान्डबाट चार हजार चार सय १९, बेलायतबाट चार हजार दुई सय ३४, म्यानमारबाट तीन हजार सात सय ९३, जापानबाट दुई हजार सात सय ५८ र मलेसियाबाट दुई हजार चार सय २९ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।
नेपाल घुम्न आउने पर्यटकमध्ये दक्षिण एसियाबाट सबैभन्दा धेरै छन् । यो क्षेत्रबाट चार लाख आठ हजार एक सय तीन पर्यटक आएका छन् । त्यस्तै, अन्य एसियाली देशबाट दुई लाख ५३ हजार तीन सय ११, युरोपबाट दुई लाख २१ हजार १८, अमेरिकाबाट एक लाख ३५ हजार पाँच सय तीन, आसियन क्षेत्रबाट ५३ हजार ६ सय ९५, मध्यपूर्वी देशबाट २० हजार पाँच सय चार, अफ्रिकाबाट चार हजार तीन सय २० र अन्य देशबाट ६२ हजार पाँच पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
समखबर संबाददाता