समखबर संबाददाता
काठमाडौं, पुष, २८ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट अन्तरिम केन्द्रीय कार्यसमिति चयन हुने भएको छ। पार्टीको जारी आन्तरिक छलफलअनुसार विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टी विधान संशोधनसमेत गर्न सक्नेछ।
विधान संशोधनसँगै हाल कायम रहेका केन्द्रीय तथा मातहतका समितिहरू विघटन हुनेछन्। त्यसपछि विशेष महाधिवेशनले नयाँ निर्वाचन समिति गठन गर्नेछ, जसले आगामी वैशाखमा आयोजना हुने नियमित महाधिवेशनको तयारी र प्रक्रिया अघि बढाउनेछ।
विशेष महाधिवेशनबाट चयन हुने अन्तरिम केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन नहुँदासम्म पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ। यस अवधिमा संगठन व्यवस्थापन, निर्वाचन तयारी र विधान कार्यान्वयन मुख्य प्राथमिकतामा रहने जनाइएको छ।
पार्टीभित्र देखिएको नेतृत्व र संगठनात्मक विषय समाधान गर्न विशेष महाधिवेशन महत्वपूर्ण हुने नेताहरूको भनाइ छ। कांग्रेसले यसलाई नियमित महाधिवेशनतर्फको संक्रमणकालीन व्यवस्थाका रूपमा लिएको बताइएको छ।
समखबर संबाददाता