समखबर संबाददाता
काठमाडौं, ८ फागुन । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचनका लागि आवश्यक स्रोत–साधनको व्यवस्था सरकारले सुनिश्चित गर्ने बताएका छन्। उनले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचनका तयारीमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे।
अर्थमन्त्री खनालले देश लामो समयदेखि राजनीतिक अस्थिरताको प्रभावमा परेको उल्लेख गर्दै अब त्यसबाट बाहिर निस्केर आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। स्थिर नीति, लगानीमैत्री वातावरण र उत्पादनमुखी अर्थतन्त्र निर्माण नै अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो।
उनले पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा उल्लेख गर्दै यसको दिगो विकासका लागि नीतिगत सुधार अपरिहार्य रहेको बताए। पूर्वाधार विकास, सेवा गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्यलाई सुदृढ गर्नुपर्नेमा उनले जोड दिए।
सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो भएमा पर्यटनमार्फत रोजगारी सिर्जना, विदेशी मुद्रा आम्दानी वृद्धि तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनले विश्वास व्यक्त गरे।
समखबर संबाददाता