समखबर संवाददाता


0 प्रतिक्रिया

384

सिन्धुली हिरासतमा कृष्ण विकको मृत्यु: क्रान्तिकारी दलित मुक्ति मोर्चाको गम्भीर ध्यानाकर्षण

२ घण्टा अगाडि
समखबर संवाददाता

480

काठमाडौं, १० वैशाख । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २२ वर्षीय कृष्ण विकको रहस्यमय मृत्यु भएको छ। बिकको मृत्युप्रति क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।

सुनकोशी गाउँपालिका–३, सिन्धुली स्थायी घर भई हाल ललितपुर बस्दै आएका विकको गत वैशाख ७ गते हिरासतमा मृत्यु भएको हो। प्रहरीले भने हिरासत कक्षको शौचालयको झ्यालमा पासो लगाएर आत्महत्या गरेको दाबी गरेको छ।

मोर्चाद्वारा जारी विज्ञप्तिअनुसार खोटाङकी १८ वर्षीया निर्जला मगरसँग भागी विवाह गरेका विकलाई वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरी सिन्धुली पठाइएको थियो। उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको अवस्थामा मृत्यु भएको जनाइएको छ।

मृतककी आमा विन्दामाया विकले छोरामाथि बयानका क्रममा मानसिक तथा शारीरिक दबाब दिइएको आरोप लगाएकी छन्। “हामीलाई घटनास्थलसमेत हेर्न दिइएको छैन, प्रहरीको भनाइमा विश्वास गर्न सक्ने अवस्था छैन,” उनले बताइन्।

मोर्चाले अन्तरजातीय प्रेम तथा विवाहसँग जोडिएका यस्ता घटनाहरू दोहोरिँदै आएको उल्लेख गर्दै जबरजस्ती करणीजस्तो गम्भीर मुद्दा दर्ता गर्नुको कारणमाथि प्रश्न उठाएको छ।

प्रहरी हिरासतमा थुनुवाको मृत्यु अत्यन्त संवेदनशील विषय भएको भन्दै मोर्चाले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

यस घटनाले हिरासतमा रहेका व्यक्तिको सुरक्षा, मानवअधिकारको अवस्था तथा कानुनी प्रक्रियाप्रति प्रश्न उठाएको मोर्चाको ठम्याइ छ।

480

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *